Logo

२८ कार्तिक,सेढवा । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ मा रहेका भूमिगत सिँचाई योजनाको बिद्युतीय ट्रान्फरमर मंगलवार राती चोरी भएको छ।

सो वडाको गढैया, बिजबनिया र जमुनिया टोलको बीचमा संचालनमा रहेका योजनाको ५० केभिएको ट्रान्फरमरको सामग्री चोरी भएका सो वडाको वडाध्यक्ष सुभाष कुमार यादवले बताए ।

सो ट्रान्सफरमरका भित्री भागमा हुने तामाका सामान चोरी भएको वडाध्यक्ष यादवले बताए। ट्रान्सफरमरका अन्य फलामका सामानहरु त्यतिकै फालिएको अवस्थामा भेटिएको वडाध्यक्ष यादवले बताए। चोर समूहले ट्रन्फरमरमा जडान गरिएका ११ हजारको हाई एक्सटेंशनको बिद्युत काटेर चोरी गरेका स्थानीयले जनाएका छन्।

यसभन्दा अगाडी पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ को निचुटा र देउरियाको बीचमा रहेका योजनाका भवनसँगै पोलमा रहेका ५० केभिएका ट्रान्सफरमरका सामग्री सावन महिनाको अन्तिम सातामा राती चोरी भएका थिए।

बिद्युत सम्बन्धित अनुभवीहरुले संगठित रुपमा ट्रान्सफरमर चोरी गरिरहेको नेपाल बिद्युत प्राधिकरणका कर्मचारीहरुले बताए। चोर समूहले ट्रान्सफरमरमा प्रयोग भएका तामाका क्वाइलका लागि चोर्ने गरेको प्रधिकरणका कर्मचारीहरु बताउछन् ।

एउटा ट्रन्सफरमरभित्र करिब ७०÷८० केजीको तामाका क्वाईल जडान रहने र सोको कवाडमा बजार भाऊ १५ सय रुपैया प्रति केजी रहेको कर्मचारीहरुको भनाई छ।

भूमिगत सिँचाई डिभिजन कार्यालय बीरगंजका इलेक्ट्रिक इन्जीनियर केशर कुमार पटेलका अनुसार यी योजनाहरु गाँउभन्दा बाहिर सुनसान स्थानमा रहेकाले यसको चोरी हुने गरेको बताए। ट्रान्सफरमरको चोरी रोक्न कार्यालयबाट समेत जनशक्ति खटाए पनि चोरी रोक्न नसकिएको इन्जीनियर पटेलले बताए।

पर्सा जिल्लामा मात्र एक बर्षको समयावधिमा नौ वटा योजनाका नौ वटा ट्रान्सफरमर चोरी भएको इन्जीनियर पटेलले बताए। बितेको एक बर्षमा पटेर्वासुगौली गा.पा.–५ निचुटा, जगरनाथपुर गा.पा.–३ , धोबिनी गा.पा.–१ घोरदौरा पिपरा, प्रसौनी भाट्टा, भौराटारबाट १–१ वटा ५० केभिएको ट्रान्सफरमर चोरी भएको इन्जिनियर पटेलले बताए।

त्यस्तै बीरगंज महानगरपालिका वडा नं.–३१ मा पर्ने सोलकपुर, कोनिया, लक्ष्मीपुर र महानगरपालिका वडा नं. २५ बगहीबाट भूमिगत सिँचाई योजनाका ५० केभिएका १–१ ट्रान्सफरमर चोरी भएका इन्जियर पटेलले बताए।


सम्बन्धित समाचार