३० कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्।
प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतले पुष्टि गरेको छ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि केही समय अगाडिदेखि नै प्रयास भइरहेको थियो। ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न विभिन्न माध्यममार्फत प्रयास गरिरहेका थिए।
प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले पनि भारत भ्रमण निश्चित भएको पुष्टि गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
स्रोतअनुसार, प्रधानमन्त्री ओली आउँदो डिसेम्बर पहिलो साता भारत जानेछन्। करिब १५ दिनको तयारी समय राखेर दुवै पक्षले मिति सार्वजनिक गर्नेछन्।
आज नोभेम्बर १५ भइसकेकाले केही दिनमै मिति सार्वजनिक गरिने स्रोतको भननाइ छ। प्रधानमन्त्रीको भारत भ्रमणका कारण चीनतर्फको भ्रमण केही पर धकेलिन पनि सक्नेछ।
उत्तरी छिमेकी चीनबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो प्राप्त भइसकेको छ। चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते द्विपक्षीय भेटवार्ता भएको थियो।