३० कात्तिक,वीरगञ्ज । १९ बर्षमुनीको महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमलाई मधेस प्रदेशका खेलकुदमन्त्रीले नगद सहित सम्मान गर्ने भएको छ । खेलकुदमन्त्री प्रमोद जयसवालले नेपाली महिला क्रिकेट टिमकी कप्तान पूजा महत्तोसहित राष्ट्रिय टिममा सहभागी मधेस प्रदेशका खेलाडीहरुलाई जनही १ लाख ५१ हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।
मन्त्री जयसवालले यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमलाई बधाई दिदैं छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमकी कप्तान महत्तोसहितका खेलाडीहरुको मनोबल बढाउन नगद पुरस्कारसहित सम्मानित गर्न लागिएको शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै जानकारी गराएका हुन् ।
हालै सम्पन्न विश्वकप छनौट प्रतियोगितामा मधेस प्रदेशबाट नेपाली टिममा कप्तान पूजा महत्तो तथा साना प्रबिन र एलिशा यादव सहभागी छन् । उनीहरु तीनै जनालाई मन्त्री जयसवालले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन्।
मन्त्री जयसवालले मधेस प्रदेशका खेलााडीहरुको मनोबल बढाउँदै खेलकुदको विकासका लागि प्रदेश सरकारले प्रतिबद्धताका साथ काम गरिरहेकोपनि बताएका छन् ।
आगामी डिसेम्बर १५ देखि १८ तारिकसम्म मलेशीयामा हुने यू–१९ महिला एशिया कप र जनवरी १८ देखि फेब्रुअरी २ तारिकसम्म मलेशियामै हुने यू–१९ महिला विश्वकपको सफलताको कामनापनि गरेका छन् ।