१ मंसिर, वीरगञ्ज । खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् । खुला सीमानाकाको कारणले भारतबाट सहजै ढङ्गले लागुऔषध भित्रिँदा पनि यसको मारमा यहाँका युवाहरु परेका हुन् ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले खुला सीमानाकाबाट अवैध रूपमा लागुऔषध भित्रिँदा युवाहरू कुलतमा फसेको बताए । उनका उनुसार खुला सीमानाकाको कारणले स्कुले उमेरदेखि नै यहाँका युवाहरु कुलतमा फस्ने गरेका छन् । अहिले युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउनुपर्ने बेला आएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले पनि युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको बताए । खुला सीमानाकाको कारणले पनि यहाँका युवापुस्ता लागुऔषधको कुलतमा फस्ने गरेका भन्दै उनले पर्सा प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यार्थी तथा युवामा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए ।
प्रहरी नायब उपरीक्षक भट्टले जिल्ला प्रहरी कार्यालय पर्सामा परेका मुद्दामध्ये अधिकांश लागुऔषधसँग सम्बन्धित रहेको जानकारी दिए । १५ देखि ४५ वर्ष उमेर समूहका युवाहरू लागुऔषधको कुलतमा पर्ने गरेको मुद्दाको चाङ्गले देखाएको छ । मुलुकका लागि आवश्यक पर्ने युवाशक्ति नै कुलतमा पर्दा मुलुक र परिवारलाई पनि ठूलो क्षति भइरहेको भट्टको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आव २०७८÷७९ मा लागुऔषधसम्बन्धी दुई सय २७ मुद्दा परेको थियो । जसमा दुई सय ८२ पुरुष र नौ महिला पक्राउ परेका थिए । त्यस्तै, आव २०७९/८० मा लागुऔषध सम्बन्धित तीन सय दुईवटा मुद्दा परेको थियो । जसमा तीन सय ८९ पुरुष र १३ महिला पक्राउ परेका थिए । त्यस्तै, आव २०८०/८१ मा दुई सय चारवटा मुद्दा परेको थियो । जसमा पुरुष दुई सय ४२ र महिला १० जना पक्राउ परेका थिए ।
पर्सामा विशेषगरी गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाईजिल्याब, नुर्फिन, नाट्राभेट ट्याब्लेट, कोरेक्सलगायत प्रयोग गर्ने गर्छन् ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले पर्सा प्रहरीले लागुऔषध दुव्र्यसनीको विरुद्धमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए । पर्सा प्रहरीले नागरिक समाजसँग हातेमालो गरेर लागुऔषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको बताउँदै चौलागाईले खुला सीमानाकाको कारणले पनि लागुऔषधको दुव्र्यसनीलाई नियन्त्रण गर्न मुस्किल भइरहेको बताए ।