Logo

२३पुष, वीरगञ्ज । भारतमा कोरोना संक्रमित बढेसँगै वीरगञ्जमा कोरोना संक्रमणको उच्च जोखिममा छ । तर वीरगञ्ज महानगरपालिकाले भने नाकामा सतर्कता अपनाइएको जनाएको छ । कोरोनाको संक्रमण वीरगञ्ज भित्रिन नदिन वीरगञ्ज–रक्सौल नाकामा स्वास्थ्य चेकजाँचलाई तीव्र पारिएको महानगरपालिकाको तर्क छ ।

वीरगञ्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मुलुकबाट आएका सर्वसाधरणको स्वास्थ्य परीक्षणका लागि वीरगञ्जको शंकराचार्यद्वार नजिकै ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । सामान्य स्वास्थ्य परीक्षणसँगै आवश्यकता अनुसार एन्टिजेन कीटबाट कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने गरिएको हेल्थ डेस्क प्रमुख डा. अनिषा महतोले जानकारी दिनुभयो ।

पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिल्लो समय भारतमा संक्रमितको संख्या बढेपछि आवश्यकताका आधारमा परीक्षणको दायरा बढाइएको उहाँको भनाइ छ ।

कोरोना नियन्त्रणका लागि नारायणी अस्पतालले पूर्वतयारी पनि थालेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताउनुभयो । संक्रमितलाई राख्न अस्पतालमा रहेको १८ शैयाको एचडीयू, ८ शैयाको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनशक्ति र अक्सिजनको प्रबन्ध मिलाईएको उहाँको भनाई छ ।

ओमिक्रोनको ‘बीएफ ७’ भेरियन्ट तुलनात्मक रूपमा बढी संक्रामक रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न चिकित्सकले आग्रह गरेका छन् ।

 


सम्बन्धित समाचार