३ मंसिर, वीरगञ्ज । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रवीणको घरमै पुगेर बधाई दिएका छन् ।
आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका–१३ मूर्लीस्थित सानाको घरमै पुगेर खेलकुद मन्त्री जयसवालले सानालाई माला लगाएर बधाई दिनुका साथै आगामी विश्वकपमा सफलताका लागि शुभकामना दिएका हुन् ।
सो अवसरमा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारीले सानालाई बधाई दिँदै क्रिकेट ब्याटसहितका खेल सामग्री प्रदान गरेका थिए ।
यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल राष्ट्रिय टिमका मधेस प्रदेशका तीन जना क्रिकेटरको हौसला बढाउन आफूले उनीहरूको घरमै पुगेर बधाई दिने सोच अनुसार आइतबार वीरगन्जस्थित सानाको घरमा पुगेर बधाई दिएको मन्त्री जयसवालले बताए ।
यसपछि राष्ट्रिय टिमकी कप्तान पूजा महतो र एलिशा यादवको पनि घरमै पुगेर बधाई दिने कार्यक्रम रहेको उनले जानकारी गराए ।
यसअघि मन्त्री जयसवालले यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल राष्ट्रिय टिमका कप्तान पूजा महतोसहित टिममा सहभागी मधेस प्रदेशका तीनै जना खेलाडीलाई जनही १ लाख ५१ हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए । उक्त रकम छिट्टै एक औपचारिक कार्यक्रम गरेर प्रदान गरिने खेलकुद मन्त्री जयसवालले बताए ।
आगामी डिसेम्बर १५ देखि १८ तारिखसम्म मलेसियामा हुने यू–१९ महिला एसिया कप र जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म मलेसियामै हुने यू–१९ महिला विश्वकपमा नेपालको यू–१९ महिला टिम छनोट भएको छ ।