Logo

२४ पुस, वीरगञ्ज । बारा र पर्साको औद्योगीक करिडोरबाट वग्ने सिर्सिया नदीमा भएको प्रदुषण तथा अतिक्रमण हटाउने बिषयमा जितपुर सिमरा उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिका विच छलफल भएको छ ।

औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट निस्कने फोहोर पानीको कारण सिर्सिया नदी प्रदुषण हुदै आएको छ । कारखानाबाट निस्कने राशायनिक युक्त पानी नदिमा सिधै फ्याक्ने गरेको र नदिको प्रदुषणको कारण त्यस आसपासका मानव वस्तीलाई समेत असर पारेको भन्दै नागरिक अगुवाहरुले आवाज उठाउदै आएका छन् ।

यसै विषयलाई लिएर जितपुर सिमरा उपमहानगरपालिका मेयर राजन पौडलले वीरगञ्ज महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतसँग आफ्नै कार्यकक्षमा छलफल गरेका छन् । उनले सिर्सिया नदीलाई सफा राख्न दुवै जितपुर सिमरा र वीरगञ्ज महानगरपालिकाले सयुक्त रुपमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।

सिर्सिया नदी आसपास रहेका उद्योग तथा कलकारखानाले उद्योगबाट निस्कने विषाक्त पानी र फोहोरजन्य बस्तु नदीमा फाल्ने गरेको बिषयलाई दुबै पालिकाले गम्भिर रुपमा लिनु पर्ने मेयर पौडेलको भनाई थियो ।

उनले औद्योगिक करिडोरमा रहेका उद्योगीहरुको समेत सहयोग लिएर सिर्सिया नदी सरसफाई अभियान सञ्चालन गर्नुपर्ने बताए । केही उद्योगहरुले फोहोर पानी सुद्धिकरण गरेर नदीमा पठाउने गरेको भएपनि अधिकांश उद्योगले सिधै केमिकल मिसिएको पानी फ्याक्ने गरेकोले यसमा उद्योगी व्यवसायीहरुको सहयोग चाहिने मेयर पौडेलेको भनाई थियो ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले सिर्सिया नदी सफा राख्न वीरगञ्ज र जितपुरसिमरा उपमहानगरपालिका विच सयुक्त अनुगमन गर्ने संयन्त्र बनाएर जाने विषयमा सहमती भएको बताए ।

सिर्सिया नदीमा फोहोर पानी र नदी आसपासको क्षेत्रमा औद्योगिक क्षेत्रबाट निस्कने बिषाक्त फोहोर नफाल्न अपिल गरेको छ । आजको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल पटवारी, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी,नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, नारायणी सिंचाईका डिभिजन इन्जिनियर अकलाख सिद्धिकी, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वीरगंज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार