Logo

२५ पुस, वीरगञ्ज । राष्ट्रिय निकुञ्ज, बनजंगल तथा खोला नालाको नजिकै बर्सौं देखि सञ्चालनमा रहेको क्रसर उद्योग संचालनमा रोक लगाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सा र बाराले मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

राजनीतिक र प्रशासनिक संरक्षणमा पर्सा राष्ट्रिय निकुञ्ज र बाराको जंगल र खोलाको छेउछाउमा संचालनमा रहेका क्रसर उद्योगले बर्षौ देखि प्रकृतिक स्रोतको दोहन गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राखेको सन्देश प्रवाह गरे लगत्तै गैर कानुनी रुपमा संचालनमा रहेका क्रसर उद्योग बन्द गराउने तर्फ स्थानीय प्रशासनको ध्यान जान थालेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार एक सूचना जारी गर्दै कानूनी प्रावधान विपरीत सञ्चालित क्रसर तथा ढुंगा, गिट्टी, बालुवा प्रशोधन गर्ने उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश राज तिम्सिनाले सूचना जारी गर्दै त्यस्ता उद्योग बन्द गर्न निर्देशन दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु बन्द गर्न भनिएको छ ।

त्यसैगरी विभिन्न आयोजना विकास तथा निर्माण आयोजनाका लागि आवश्यक परिमाणमा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग तथा निर्माण व्यवसायीलाई पनि प्रशासनले सचेत गराएको छ । आयोजना समाप्तिपछि पनि त्यस्तो उत्खनन जारी राखेको भए आजैको मितिदेखि लागु हुने गरी बन्द गर्न सूचनामा भनिएको छ ।

आदेशलाई अटेर गरी कसैले रोडा, ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन गरेको पाइएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ । प्रचलित कानून बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई सम्बन्धित कागजात प्रशासनमा पेश गर्न भनिएको छ । सूचना उल्लंघन गरे कारबाहीको चेतावनी दिइएको छ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

एक्सनमा देखियो बाराको प्रहरी प्रशासन

बारा जिल्लामा अवैध रुपमा सञ्चालित १५ वटा क्रसर तथा बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ । जिल्ला अनुगमन उपसमितिले तीन दिन लगातार अनुगमन गरेर १५ वटा क्रसर उद्योगको विद्युत लाइन काटेको हो ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गठित उपसमितिले शुक्रबारदेखि निरन्तर बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगको अनुगमन गरिरहेको छ । अनुगमन उपसमितिले बारामा सञ्चालित ५३ मध्ये २९ वटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरिसकेको छ ।

जसमध्ये नवीकरण लगायत आवश्यक कागजपत्र नभेटिएको, मापदण्ड विपरीत सञ्चालनमा रहेका, वातावरणीय अध्ययन प्रतिवेदन पनि पुरानै भएको, खरिद, बिक्री र स्टकको हिसाब राम्रोसँग नराखेका, अनुमति लिइएको भन्दा फरक ढंगले सञ्चालनमा रहेका र राज्यलाई तिनुपर्ने कर नतिरेका १५ वटा उद्योगहरुको विद्युत लाइन काटेर सिल गरिएको अनुगमन उपसमितिले जनाएको छ ।

बाराको कलैया उपमहानगरपालिका–२४ स्थित मिनाक्षी एग्रिगेट इन्डष्ट्रिज, जीतपुरसिमरा उपमहानगरपालिका–१२ स्थित रियान एग्रिगेट इन्डष्ट्रिज, वडा नं १५ स्थित वाडगंगा बालुवा उद्योग, जयमाता दी बालुवा प्रशोधन केन्द्र, अरुण बालुवा प्रशोधन उद्योग, वडा नं १६ को वनदेवी बालुवा धुलाई उद्योगको विद्युत प्रशारण लाइन काटिएको छ ।

त्यसैगरी निजगढ नगरपालिका–४ स्थित नेपाल क्रसर उद्योग, वडा नं ९ स्थित लालबकैया क्रसर उद्योग, हिमालयन क्रसर उद्योग, चौलागाई रोडा, ढुंगा, बालुवा प्रशोधन केन्द्र, वैष्णवी क्रसर उद्योग, दंगाल ब्रदर्श प्रशोधन उद्योग, बकैया स्यान्ड वासिङ इन्डष्ट्रिज र गुगल कन्सट्रक्सन कोल्हवीको लाइन काटिएको अनुगमन उपसमितिले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने भएकाले जीतपुरसिमरा–२१ र २२ अमलेखगञ्जस्थित १० वटा क्रसर उद्योग विगतदेखि नै बन्द रहेको पाइएको छ ।

आयोजना सम्पन्न भइसकेपछि पनि सञ्चालन भइरहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगका सञ्चालकलाई कानुनी कारबाही गर्ने तयारी उपसमितिले गरेको छ ।

अनुगमन उपसमितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले स्थलगत अनुगमनका क्रममा प्राकृतिक स्रोतको अधिकतम दोहन भएको देखिएको बताए । ‘सिमरा, कोल्हवी क्षेत्रमा भन्दा निजगढमा अधिकतम दोहन भएको देखिएको छ,’ उनले भने, ‘सबै उद्योगलाई तत्काल उत्खनन र कारोबार बन्द गर्न निर्देशन दिइसकेका छौं ।’ सिल गरिएका उद्योगबाट राति ढुंगा, गिट्टी बालुवा अन्यत्र सार्न सक्ने भएकाले प्रहरी टोलीलाई नियमित गस्ती गर्ने गरी खटाइएको पनि उनले बताए ।


सम्बन्धित समाचार