Logo

९ मंसिर,वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि ‘मेमोग्राम’ उपकरण जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अस्पतालका अनुसार एक साता भित्र मेमोग्राम उपकरण जडान सकेर नियमित सञ्चालन गरिने जनाएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले एक साता भित्र मेमोग्राम जडान गरिसक्ने लक्ष्य राखेर कामलाई तीव्रता दिइएको जानकारी दिए । “स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि आवश्यकपर्ने मेमोग्राम मेसिन अस्पतालमा आए सँगै बायो मेडिकल इञ्जिनियरले मेसिन राख्न आवश्यक कोठाको तयारी गरिरहेका छन् । एक साता भित्र जडान गरिसक्ने लक्ष्य राखेका छौँ”, उनले भने ।

मेसु दासले मेमोग्राम जडान भए सँगै यहाँका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुने बताए । “सेवा शुरु भए पछि स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ”, उनले भने । सङ्घीय सरकार मातहतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बाट उक्त उपकरण यहाँ ल्याइएको हो ।रासस


सम्बन्धित समाचार