९ मंसिर,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका सम्बन्धमा भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग भएको सम्झौताबारे विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) सँग जवाफ मागेको छ । सम्झौताको प्रतिलिपिसमेत पेश गर्न निर्देशन दिँदै बोर्डले शुक्रबार क्यानलाई पत्र लेखेको हो ।
सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले विज्ञापन बोर्डमा उक्त सम्झौताविरुद्ध गत मंसिर सात गते उजुरी दिएका थिए । उजुरीमा एनपीएलका खेलहरू ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनीमार्फत स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य अन्य कानूनहरुका अलावा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ विपरीत भएको उल्लेख छ ।
यही उजुरीका विषयमा यस बोर्डको उजुरी दर्ता नं. ०९ मिति २०८१÷८÷०७ मा दर्ता भएको उजुरीको ब्यहोराको सम्बन्धमा लेखिंदैछ । उजुरीमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने भनी तहाँबाट आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकोमा उक्त कार्य अन्य कानूनहरूको अलवा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ विपरीत भएको ब्यहोरा समेत उल्लेख छ ।
विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लीन फिड) प्रसारण गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । क्यानले स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने घोषणा गरेपछि नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आलोचना गरेका थिए । उनीहरूले सातवटा निकायमा सम्झौताविरुद्ध उजुरी गरेका छन् ।
सञ्चार मन्त्रालय, खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद्, प्रसारण विभाग, विज्ञापन बोर्ड र प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गरिएको हो । स्टार स्पोर्ट्ससँग गरिएको सम्झौता अवैध भन्दै यसलाई खारेज गर्न उजुरीमा माग गरिएको छ ।