१० मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहरा परिसरबाट मंसिर १६ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेका छन्।
एनपीएल ट्रफीलाई निकै आकर्षक बनाइएको छ। ट्रफीमा सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ। विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश दिने उद्देश्यका साथ कालापत्थरको ढुंगालाई ट्रफीमा समाविष्ट गरिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारख खड्का बताउँछन्।
‘एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा छ। यो ट्रफीमात्र होइन, विश्वलाई हिमाल संरक्षण गर्ने सन्देशसमेत दिन खोजिएको हो,’ उनले भने।
आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ट्रफीमा प्रयोग गरिएको ढुंगा कालापत्थरबाट ल्याएका थिए। ट्रफी सार्वजनिक समारोहमा उनीहरूलाई खादा ओढाएर सम्मानसमेत गरिएको थियो।
ट्रफी सार्वजनिक समारोहमा ओली र सहभागी ८ टिमका मार्की खेलाडीसहभागी थिए। अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताएका छन्।
एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको उनको भनाइ थियो। ‘अहिले सबैलाई शुभकामना दिन्छु। जितेपछि जित्नेलाई बधाई दिन्छु,’ उनले भने।
प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन गर्नुका साथै आर्थिक गतिविधि चलायमानमा सहयोग पुग्ने अपेक्षा लिइएको बताए।
‘सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको छैन। त्यसमा मलाई चित्त बुझेको छैन। आगामी दिनमा त्यसलाई सुधार गर्दै लगिने छ,’ उनले भने।