Logo

२६ पुस, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । ७ दलको समर्थनमा गत पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए।

केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो। आज विश्वासको मत लिँदा यो संख्यामा बढ्ने गरी सत्ता साझेदार दलहरूले पहल गरिरहेका छन्।

यता प्रधानमन्त्री प्रचण्डले साना ठुला सबै दललाई समर्थन गर्न आग्रह गरिरहेका छन् । नेपाली कांग्रेसले विश्वासको मत दिने नदिनेबारे निर्णय लिन आजै पदाधिकारी बैठक बोलाएको छ । एकीकृत समाजवादीले पनि यसबारे आजै बिहान निर्णय लिने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास धुम्बाराही पुगेर सोमबार साँझ भेटवार्ता गर्दै विश्वासको मत मागेका थिए। देउवाले पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ दिएका छन्।

प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि पटकपटक भेटवार्ता गरी विश्वासको मत मागेका छन्। एकीकृत समाजवादीले पनि आज सचिवालय बैठक गरेर विश्वासको मत दिने वा नदिने निर्णय गर्ने भएको छ।

बागमतीलगायत प्रदेश सरकारमा एकीकृत समाजवादीले समर्थन गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसद भए पुग्छ।

प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत पाउने बताइरहेका छन्। विश्वासको मतको पक्षमा सिंगो संसद उभिने उनको भनाइ छ।


सम्बन्धित समाचार