१२ मंसिर,काठमाडौँ । साइवर अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश माग गर्दै दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार खारेज गरेको हो। साइवर अपराधको कसुरमा थुनामा रहेका प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्न नमिल्ने भन्दै सर्वोच्चले रिट खारेज गरिदिएको हो।
साइवर अपराधको कसुरमा पक्राउ परेपछि प्रसाईँका छोरा निराजन प्रसाईँले गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।