१७ मंसिर, काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी २० प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।
पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोज्बीच हुनेछ । भने दोश्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ ।
पहिलो खेल बिहान ९ः १५ बजे सुरु हुँदैछ । दोस्रो खेल भने दिउँसो १ः १५ मा सुरु हुने नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ । हिजो स्थानीय तहको उपनिर्वाचनका कारण कुनै पनि खेल भएन ।
आजबाट समुहचरणका सबै खेल दैनिक दुई वटा हुने तालिका छ । सिङ्गल राउन्ड रोविनका आधारमा जारी एनपीएलमा लिग चरणमा कूल २८ खेल हुनेछ ।
लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । जहाँ पहिलो र दोस्रो हुने टिमबिच क्वालिफायर वान हुनेछ । यस खेलको विजेता सिधै फाइनलमा पुग्नेछ । यस्तै तेस्रो र चौथो हुने टोलीबिच एलिमिनेटर हुनेछ ।
एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबिच दोस्रो क्वालिफायर हुनेछ । यसको विजेता फाइनलमा पुग्नेछ ।
विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिने छ । यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलाई २० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।