Logo

३ पुष, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) क्वालिफायर–१ र एलिमिनेटर विजेताको टुंगो लाग्ने छ ।

पहिलो क्वालिफायर–१मा दिउँसो सवा १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने छन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्ने टोलीका लागि अर्को एक मौका हुने छ । हार्ने टोलीले एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

सुदूरपश्चिम र जनकपुर दुवै टोलीको उच्च मनोबल छ । दुवै टोलीले प्रतियोगिता जित्ने दाबी गर्दै आएका छन् ।

त्यसअघि बिहान सवा ९ बजे एलिमिनेटर प्रतिस्पर्धामा चितवन राइनोज र कर्णाली याक्स मैदान उत्रँदै छन् । लिग चरणको भेटमा कर्णालीले चितवनमाथि सात रनको जीत निकालेको थियो ।

लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडे पनि नेटरनरेटमा चितवन कर्णालीभन्दा अघि रहँदै तेस्रो भएको थियो ।

अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भए पनि ८ अंक जोडेको अर्को टोली काठमाडौं गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो टोली बनेको थियो ।

एलिमिनेटर प्रतिस्पर्धामा जित्ने टिमले क्वालिफायर १ मा हार्ने टिमसँग खेल्ने छ । त्यो क्वालिफायर २ हुने छ । क्वालिफायर २ मा जुन टिमले जित्छ त्यो फाइनलमा पुग्ने छ । पुस ६ गते एनपीएल पहिलो संस्करणको फाइनल हुने छ ।

एनपिएलमा सहभागी आठ टिममध्ये लुम्बिनी लायन्स, विराटनगर किंग्स, पोखरा एभेञ्जर्स र काठमाडौं गुर्खाज लिग चरणबाट बाहिरिएका थिए ।


सम्बन्धित समाचार