३ पुष,काठमाडौं । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अश्विनलाई उनको योगदानका निम्ति धन्यवाद दिएको छ ।
अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको टेस्ट बराबरीमा सकिएपछि अश्विनले सन्न्यासको घोषणा गरेका हुन् । खेलपछि अश्विनले कप्तान रोहित शर्मासँग पत्रकार सम्मेलनमा आएर सन्न्यासको घोषणा गरे ।
अश्विनले भने, “अन्तर्राष्ट्रियस्तरमा भारतीय क्रिकेटरका रूपमा यो मेरो अन्तिम दिन हो । म अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिँदै छु । मलाई विश्वास छ कि क्रिकेटरका रूपमा ममा अझै केही बाँकी छ, तर अब म यसलाई क्लबस्तरको क्रिकेटमा प्रदर्शन गर्नेछु ।”
३८ वर्षीय अश्विनले आफ्नो करियरमा १०६ खेल खेलेर ५३७ विकेट लिएका छन् । उनले खेलमा आठपटक १० विकेट लिएका छन् ।
ब्याटिङमा पनि अश्विनको प्रदर्शन राम्रो थियो । उनले ६ शतक र १४ अर्धशतक बनाएका छन् । “म बीसीसीआईलाई धन्यवाद दिन चाहन्छु । यसबाहेक पनि धेरै नाम छन्, तीमध्ये सबैभन्दा महत्त्वपूर्ण छन् रोहित, विराट कोहली, अजिंक्य, पुजारा… जसले मेरो बलमा धेरै राम्रा क्याचहरू लिए । यो निकै भावुक क्षण हो । यस समयमा म तपाईंहरूको कुनै सवाल लिन सक्दिनँ । तपाईंहरू सबैलाई धेरैधेरै धन्यावाद,” आश्विनले भने । बीबीसीबाट ।