Logo

४ पुष,काठमाण्डौ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको भनिएको एउटा तस्वीर गएरातिदेखि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछाने जस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा यो तस्वीर राख्दै रास्वपाका नेता दीपक बोहराले कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुने समेत उल्लेख गर्नुभएको छ ।

रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न पक्ष–विपक्षमा भइरहेको छ । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न उठाएका छन् ।

रास्वपा समर्थक डा.निकोलस भुसालले तस्बिर आफूले खिचेको दाबी गर्नुभएको छ । लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका भुसालले दुई दिनअघि फेसबुकमा यो तस्वीर राखेर हटाएको भन्दै फेसबुकमा चर्चा भइरहेको छ । ‘यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भयो, माफी चाहान्छु’ भुसालले फेसबुकमा लेख्नुभएको छ ।

प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘हिरासतभित्रको तस्वीर कसैले पनि सार्वजनिक गर्न मिल्दैन, हामी यसबारे अनुसन्धान गरिरहेका छौँ’ नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले उज्यालोसँग भन्नुभयो ।


सम्बन्धित समाचार