७ पुष,वीरगञ्ज । सशस्त्र प्रहरी बलले पुस ०६ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट डेढ लाखभन्दा बढी क्याप्सुल लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको नं. १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले सञ्चालन गरेको सृष्टि किराना जेनरल स्टोरमा विशेष सूचनाको आधारमा शनिबार राति खानतलासी गरेको थियो ।
सो क्रममा पाँचवटा कार्टुनमा अवैध रूपले भण्डारण गरी राखिएको एक लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराइड नामक लागुऔषध बरामद भएको हो । स्टोर सञ्चालक कोइरीलाई समेत वीरगन्ज भन्सार कार्यालय अगाडिबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।