Logo

तस्विर : बिशाल पटेल

१ माघ, वीरगञ्ज । माघे संक्रान्ति नेपालीहरुले मनाउने एक प्रमुख चाड हो । यसलाई मकर संक्रान्ति तथा माघी पर्व समेत भन्ने गरिन्छ । माघ महिनाको पहिलोदिन पर्ने यसपर्व नेपालका विभिन्न भेग र समुदायमा फरक फरक ढङ्गले मनाउने प्रचलन छ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ ।

मधेसमा माघी भन्ने वित्तिकै थारु समुदायको मुख्य चाडको रुपमा लिइन्छ । देशभर माघीलाई थारु र मगर समुदायले नयाँ बर्ष र माघेसंक्रान्ति पर्वको रुपमा मनाई रहदा वीरगञ्जमा फरक शैलीमा खिचडी महोत्सव मनाईयो ।

वीरगञ्जको पूरानो बसपार्कमा आयोजना गरिएको माघी अर्थात खिचडी महोत्सव कार्यक्रममा थरु समुदाय बाहेक मारवाडी, नेवारी र मधेसी समुदायका महिलाहरुले आआफ्नो समुदायको प्रतिनिधित्व हुनेगरी खानाको परिकार खुवाएर माघी मनाएका छन् । महोत्सवमा विभिन्न समुदायले तयार पारेको खानाको परिकारको स्टल राखिएको थियो ।

माघी (खिचडी) मूल समारोह समिति पर्साले कार्यक्रमको आयोजना गरेको हो । खिचडी पर्वको अवसरमा थारु समुदायले वीरगञ्जकको घण्टाघरबाट बाजा, झाँकी सहितको ¥याली निकालेका थिए । महोत्सवमा थारु समुदायको परम्परागत खानाका परिकार जस्तैः माछा, घोंगी, केकडा ( गंगटो), हासँ, कुखुरा, परेवा लगायतका मासु, चिचर ( अनादी चामलको भुजा ) लगायतका खानाका परिकारहरु राखिएको माघी समारोहका अध्यक्ष रामसुन्दर चौधरीले जानकारी दिए ।

त्यस्तै महोत्सवमा नेवारी समुदाय, मारवाडी समुदाय तथा मधेसी समुदायको खानाका परिकारहरु समेत राखिएको थियो । यसैगरी थारु समुदायकोे गाउँ, पहिरन, संस्कृति तथा कला समेत प्रदर्शनी गरिएको थियो । माघी मुल समारोह समितिले आज महोत्सव आयोजना गरिएको कार्यक्रम स्थलमा रक्तदान समेत आयोजना गरेको थियो ।

महोत्सवमा एनसेल र टाइमलेस टुडेको स्टल समेत राखेर विभिन्न सिपमूलक जानकारी र सन्देश दिन खोजिएको थियो ।


सम्बन्धित समाचार