Logo

१५ माघ,वीरगञ्ज । वीरगञ्जस्थित साउथ जोन माध्यमिक विद्यालयले १६ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने रक्तदाताहरुमा सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायतका रहेका छन् ।

विद्यालयका प्रधानाध्याक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कँडेल र मन्त्री विनोद गिरी, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याक केसी, ठाकुुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा. उमेश चौरसिया, पत्रकार जगत राई, प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रेडक्रस सभापति कँडेलले पहिलो रक्तदान गर्ने रक्तदातालाई रगल संकलन पर्ने पोका हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । १६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम आयोजना भएको र मंगलबार नै विद्यालयले अभिभावकहरुका लागि निशुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गरेकको विद्यालय सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।

सो शिविरबाट ५० जना भन्दा बढी अभिभावक लाभान्वित भएको उनले बताए । शिविरमा चिकित्सक डा. वेदप्रकाश कुशवाहा र डा. सुशिल कुमार साहको सिफारिस अनुसार आवश्यक टेष्टहरु र औषधीसमेत विद्यालयले अभिभावकका लागि निशुल्क व्यवस्थापन गरेको संग्रौलाले बताए ।

यस्तै, वार्षिकोत्सव मनाउन आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत माघ १६ गते नर्सरीदेखि कक्षा २ सम्मको खेलकुद कार्यक्रम, माघ १७ गते सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण, माघ १८ गते नर्सरीदेखि कक्षा २ सम्मको सांस्कृतिक र पुरस्कार वितरण कार्यक्रम र माघ २० गते १६ औं वार्षिकोत्सव कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको विद्यालय सहायक प्रधानाध्यापक संग्रौलाले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका वडा नं. १३ मा २०६६ साल स्थापित विद्यालयमा हाल करिब १८०० विद्यार्थी अध्ययनरत छन् ।

 


सम्बन्धित समाचार