Logo

२२ माघ, वीरगञ्ज । नेपाल सरकारले मुलुकभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आजदेखि सुरु भएर फागुन ६ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

पर्सा जिल्लाका झण्डै ३९ हजार किशोरीहरुलाई ‘एचपिभी खोप’ लगाउने लक्ष्य छ । स्वास्थ्य कार्यालय पर्सा जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, जिल्लाका १४ वटै स्थानीय तहमा ३८ हजार ५५७ किशोरीलाई एचपीभी खोप लगाइनेछ ।

पर्सा जिल्लामा आज विहान १० बजे वीरगञ्जबाट अभियानको शुरुआत हुदैछ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ हुने ठाकुरले बताए ।

पर्सामा खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण माघ २२ देखि माघ २८ गतेसम्म वीरगञ्ज महानगरपालिका (वडा १–१६), पर्सागढी, पोखरिया, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुरमा सञ्चालन हुनेछ ।

दोस्रो चरण माघ ३० देखि फागुन ६ सम्म वीरगञ्ज महानगरपालिका (वडा १७–३२), बहुदरमाई, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकामा सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।


सम्बन्धित समाचार