Logo

२२ माघ,वीरगञ्ज । पर्सामा पनि आज एचपीभी खोपको शुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरेर एचपीभी खोप अभियान शुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका अध्यक्ष एवं खोप समन्वय समितिका सभापति निरञ्जन प्रसाद सोनार (अजय सर्राफ) तथा पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गर्नुभएको हो ।

उद्घाटन गर्दै सभापति सर्राफले लक्षित उमेर समूहका छात्राहरूलाई एचपीभी खोप प्राप्त गर्न पाउनु निकै सौभाग्यको कुरा रहेको बताउनुभयो । उहँले अघिल्लो पुस्ताले नपाएको खोप अहिलेको पुस्ताले पाउनुले स्वास्थ्य सेवाको विस्तार भएको स्पष्ट पार्दै सम्पूर्ण बालिका तथा छात्राहरूलाई खोप लिन आग्रह गर्नुभयो ।

उहाँले अभियान सफल बनाउन सबै सरोकारवाला निकायहरूले सहकार्य गर्नुपर्नेमा जोड दिँदै पर्सा जिल्लाका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप अभियान महत्त्वपूर्ण हुने उल्लेख गरे । साथै, उनले खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्क भएर लगाउन अभिभावकहरूलाई समेत आग्रह गर्नुभयो ।

शुभारम्भ भएको मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अध्ययनरत १३८ जना छात्राहरूलाई एचपीभी खोप दिइने वीरगञ्ज–१४ स्थित स्वास्थ्य चौकीका प्रमुख सचितानन्द जयसवालले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय पर्साका अनुसार, जिल्लाका १४ वटै स्थानीय तहमा करिब ३८ हजार ५५७ किशोरीलाई एचपीभी खोप दिने लक्ष्य राखिएको छ ।

अभियान पहिलो चरणमा माघ २२ देखि माघ २८ सम्म र दोस्रो चरणमा माघ ३० देखि फागुन ६ सम्म सञ्चालन हुनेछ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण सिंह, वीरगञ्ज महानगरपालिकाअन्तर्गतको खोप समन्वय समितिका संयोजक अनिल यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, वीरगञ्ज – १४ का वडाध्यक्ष महबुब एलाई अन्सारी, युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

 

 


सम्बन्धित समाचार