![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-08-at-6.19.29-PM-scaled.jpeg?fit=2560%2C1441&ssl=1)
२६ माघ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रथम मेयर विजय कुमार सरावगीले नारायणी अस्पतालको मुद्दा छिटो टुंग्याएर न्यायिक निरुपण गर्न माग गरेका छन् । अस्पतालको भवन निर्माणका लागि दबाव -यालीलाई शनिबार सम्बोधन गर्दै प्रथम मेयर सरावगीले माघ २८ गते रहेको पेशीमा नै टुंगो लगाउन आग्रह गरेका हुन् ।
उनले भने, ‘नारायणी अस्पतालमा गरिब, असहाय, विपन्नहरु उपचार गर्न आउछन् । उनीहरुले महंगो पैसा तिरेर कति ठाउँमा उपचार गराउन जाने ? नारायणी अस्पताललाई षड्यन्त्र मूलक ढंगले विनियोजित बजेट खर्च नहुने गरी कानूनी अड्चन ल्याईयो । म सर्वोच्च अदालतका माननीय न्यायधीशहरुलाई के आग्रह गर्न चाहान्छु भने २८ गते पेशी छ त्यसलाई टुंग्याईदिनुस । अब कमसेकम जनताको भलो गरिदिनुस, यदि सक्नुहुन्न भने फेरी त्यहि हेर्दाहेर्दैमा टाईम गयो भने यसलाई कमसेकम अग्राधिकारमा राखेर जनताको चाहाना बुझिदिनुप-यो । कानूनी भाषामा अग्राधिकारमा राखेर छिटो छिटो निर्णय गर्न चाह्यो भने सकिने कुरा छ । यो त्यति ठूलो मुद्दा पनि होइन । यो खाली ठेकेदारहरुको झगडामा अड्काईएको छ । हामीले त्यो बेलामा नै हस्पिटल बनाउनका लागि बजेट निकासा गरिएको थियो । ३०० बेड बनाउनका लागि बजेट निकासा भएको थियो पछि पाँचसयसम्म विस्तार गर्ने कुरा थियो । तर, भएन । यो आवश्यकता हाम्रो जनताको लागि हो । हाम्रो बालबच्चाको लागि हो । यहाँको ब्लड बैंकले सेवा दिन्छ । म मेयर हुँदाखेरी २४ घण्टा सेवा पाओस भनेर महानगरपालिकाबाट नै बजेट दिएर आकस्मिक सेवा दिने व्यावस्था गरेको थिए । सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी इण्डिभिजुअल मागेको होईन । हाम्रो जनताको लागि मागेको हो । यो जुनसुकै सरकारले सुन्नुपर्छ । यो आन्दोलन रोक्दैन । हामी सचेत गराउन चाहान्छौं सर्वोच्च अदालतलाई पनि छिटो मुद्दा टुंग्याईयोस ।’