Logo

८ माघ, वीरगञ्ज । पर्साको वीरगंज महानगर सहित ४ पालिकामा जग्गाको कित्ताकाट खुला भएको छ । पर्साको वीरगन्ज महानगरपालिका, सखुवाप्रसौनी, पकाहमैनपुर र पटर्वासुगौली गाउँपालिकामा जग्गाको कित्ताकाट खुला भएको हो ।

सरकारले भूउपयोग नीति लागू गर्ने निर्णय गरेसँगै जग्गाको वर्गीकरण गरेर पठाउन स्थानीय तहलाई निर्देशन दिए बमोजिम पर्साका चारवटा स्थानीय तहले जग्गाको वर्गीकरण गरी पठाएपछि ती स्थानीय तहहरुको जग्गा कित्ता गर्न खुला गरिएको हो । स्थानीय तहहरुले भूउपयोग नीति लागू गर्नका लागि जग्गा वर्गीकरण गरेर पठाउन ढिलो हुँदा सात महीनादेखि पर्सा जिल्लामा जग्गाको कित्ताकाट रोकिएको थियो ।

पर्सा जिल्लाका १४ वटा पालिकामध्ये चारवटा पालिकाले मात्र जग्गा वर्गीकरण गरेर पठाएकोले चारवटा पालिकालमा जग्गा कित्ताकाट गर्न खुला गरिएको मालपोत कार्यालय पर्साले जनाएको छ । पर्साका दशवटा पालिकाले अहिलेसम्म तोके अनुसार वर्गीकरण गरेर नपठाएको मालपोत कार्यालयले जनाएको छ ।

सरकारले देशभरिका पालिकाहरूलाई कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेर सिफारिश गर्नको लागि मङ्सिर २३ गतेको समयसीमा तोकेको थियो । गत जेठ २७ गतेदेखि जग्गाको वर्गीकरण नगरेका पालिकाहरूको कित्ताकाट रोकिएको थियो ।

पर्सा जिल्लाका १४ वटा पालिकाले पनि सरकारले दिएको समयसीमामा जग्गाको वर्गीकरण गरेर सिफारिश गर्न सकेका थिएनन् । जग्गाको कित्ताकाट नहुँदा पर्सावासी समस्यामा परेका थिए । मालपोत तथा भूमिसुधार कार्यालयबाट ससीम जग्गाको मात्र रजिस्ट्रेशन हुँदै आएको थियो भने अरू जग्गाको कित्ताकाट रोकिएको थियो ।


सम्बन्धित समाचार