Logo

८ माघ, वीरगञ्ज । वीरगन्जको बालसुधार गृहमा क्षमताभन्दा बढी बालक तथा किशोर राखिएको छ । क्षमता भन्दा बढीलाई राखिएपछि मधेशप्रदेशको एक मात्र बाल सुधार गृहको व्यवस्थापनमा समस्या भएको छ ।

६० जनाको क्षमता भएको सो सुधार गृहमा दोब्बर अर्थात ९ भारतिय सहित ११८ जना किशोर तथा बालकहरुलाई कोचेर राखिएको छ । गृहमा साना ठुला गरी ११ वटा कोठा छन् । साना कोठामा १२ देखि १४ जना र ठुलोमा ३१ जना जतिलाई कोचेर राख्ने गरिएको छ । उनीहरू पर्सा देखि सप्तरीसम्मका अदालतबाट कानुनी विवादमा परेर पुर्पक्ष तथा कैद सजायका लागि पठाइएका हुन् ।

करिब डेढ कठ्ठा क्षेत्रफलमा फैलिएको सो गृहमा बालबालिका उकुसमुकुसपूर्ण दैनिकी बिताउन बाध्य रहेकाछन् । २०७५ भदौदेखि सञ्चालित सो गृहमा हाल आश्रितमध्ये ४१ जना जबरजस्ती करणीका, २० जना लागूऔषध मुद्दाका, १० सवारीज्यान मुद्दाका र ७ जना अपहरण शरीरबन्धक मुद्दाका रहेका छन्  ।

अन्य भने चोरी, कर्तव्य ज्यान लगायतका मुद्दाका रहेका छन्  । केही बालबालिका भने मानव बेचविखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह मुद्दाका पनि रहेका छन् । गर्मी मौसममा ससाना कोठामा धेरै जना कोचिएर बस्दा श्वासप्रश्वासमा समस्या, ज्वरो, हातखुट्टा सुन्निनेजस्ता समस्या देखिने गरेको बालगृह प्रमुख टीकाकृष्ण काफ्ले बताउनुभयो ।

बालबालिकाको मुद्दा अधिकतम १ सय २० दिनमा फैसला गरिनुपर्ने व्यवस्था ऐनमा रहे पनि लामो समयसम्म फैसला नहुँदा सुधार गृहमा क्षमताभन्दा बढी बालक तथा किशोर रहेको काफ्लेले बताउनुभयो ।

कुल आश्रितमध्ये डेढ दर्जनको मात्रै मुद्दा फैसला भएको र बाँकी पुर्पक्षमै रहेको उहाँले बताउनुभयो । ‘काठमाडौं, पोखरामा रहेका बाल सुधारगृहमा विद्यालय, अस्पतालको पनि सुविधा भएपनि यो गृहमा त्यस्तो सुविधा नभएकाले समस्या भइरहेको काफ्लेले बताउनुभयो ।

 


सम्बन्धित समाचार