Logo

१४ फागुन,रौतहट । प्रक्रिया नै पूरा नगरी रौतहटको विभिन्न स्थानमा खुलेका औषधी पसल बन्द गरिएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगन्जबाट खटेको टोलीले अनुगमन गर्ने क्रममा दर्ता प्रक्रिया पूरा नगरी खुलेका रौतहटको पाँच वटा औषधी पसलमा ताला लगाइएको हो ।

अनुगमन टोलीले चन्द्रपुर नगरपालिकामा रहेको चपुर सिटी हस्पिटलको फामेर्सी, डल्फिन फार्मेसी, आयु मेडिकल हलमा तालाबन्दी गरेको शाखा प्रमुख अरबिन्द बानियाँले जानकारीदिए । उनका अनुसार ती फामेर्सीले दर्ता प्रकृया नै पूरा नगरी सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरी कारबाही अगाडि बढाइएको हो । फामेर्सी सञ्चालकलाई औषधी व्यवस्था ऐन २०३५ बमोजिम कारबाही हुने छ ।

यसैगरी, पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा रहेको ‘ट्रमा सेन्टर’ को औषधी पसल पनि दर्ता नभएको तर पक्रिया अघि बढाइएको पाइएकोले सात दिनभित्र दर्ता गरी जानकारी दिन सचेत गराइएको शाखा प्रमुख बानियाँले बताए । नवीकरण नगरिएका फामेर्सीको हकमा भने नवीकरणका लागि सात दिनको समय दिइएको छ ।

यसैबिच बिना दर्ता फामेर्सी सञ्चालन गरेको र प्रतिबन्धित औषधी बिक्री गरेको मौलापुरको पटेल मेडिकल हलका सञ्चालक ओमप्रकाश पटेलविरुद्ध जिल्ला अदालत गौरमा मुद्दा दर्ता भएको छ । बौधिमाई नगरपालिकाको कोपवाको दुई वटा औषधी पसलमा सिलबन्दी गरिएको छ भने पछिल्लो तीन दिन भित्र रौतहटमा करिब दुई दर्जनभन्दा बढी औषधी पसलको अनुगमन गरिएको छ ।

प्रक्रिया पूरा नगरेका केही औषधी पसलेले भने अनुगमन टोली आउने जानकारी पाएर पसल नै नखोली सम्पर्कविहीन भएको शाखा प्रमुख बानियाँले बताए ।


सम्बन्धित समाचार