Logo

१० माघ, वीरगञ्ज । काम सम्पन्न नगरी उद्घाटन गरिएको हुलाकी राजमार्ग अन्तर्गत वीरगन्ज–ठोरी सडकखण्डको तिलावे नदीको पुलको बाँकी काम लुम्बिनी बिल्डर्सले सुरु गरेको छ । करिब २ साता अघिदेखि लुम्बिनीले त्यहाँ काम गरिरहेको छ ।

पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्स ज्वाइन्ट भेन्चरका कम्पनी हुन् । तर उद्घाट्न गरिएको लामो समय बितिसक्दा पनि पुलमा बाँकी रहेको अधुरो काम सम्पन्न गर्न ठेकेदार कम्पनीले तदारुकता नदेखाउँदा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले दुबै कम्पनीलाई कारबाहीमा लैजाने चेतावनी दिएपछि मात्रै लुम्बिनी बिल्डर्स अधुरो काम सम्पन्न गर्न तयार भएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दारोगा प्रसादले काम अधुरो राखेर दुबै कम्पनी मौन बसेपछि दुबैलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएपछि लुम्बिनी काम सम्पन्न गर्न तयार भएको बताए ।

लुम्बिनी बिल्डर्स प्रालिका साइट इन्चार्ज कविराज पौडेलले पप्पु कन्स्ट्रक्सनले पहिला काम गर्छु भनेर पछि काम नगरेपछि लुम्बिनीले बाध्यतावश् अधुरो काम सम्पन्न गर्न हात हालेको बताए । उनले फागुन मसान्तसम्म काम सम्पन्न गर्ने अवधि बाँकी रहेको तर यसै गतिमा काम गर्न पाए आउँदो २ साताभित्र काम सम्पन्न गरिसक्ने जानकारी दिए ।

हाल पुलको पूर्व र पश्चिम दुबै तर्फ ३÷३ मिटर लम्बाई र ११÷११ मिटर चौडाईको एबुडमेन्ट ढिलाइको काम सम्पन्न गर्न लागिएको साइट इन्चार्ज पौडेलले बताए । गत साउन २८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले रिबन काटेर उक्त पुलको संयुक्त उद्घाटन गरेका थिए ।

त्यसबेला नै स्थानीयले काम सम्पन्न नगरी उद्घाटन गर्न लागिएको भनी चर्को विरोध गरेका थिए । तर, विरोधका बावजुद भव्यता साथ पुलको उद्घाटन गरिएको थियो । अहिले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले ठेकदार कम्पनीलाई कार्वाही गर्ने चेतावनी दिएपछि काम अगाडी बढेको हो । पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्स ज्वाइन्ट भेन्चरका कम्पनी भएपनि यसमा पप्पुले काम नगरेपछि लुम्वीनीले गरेको हो ।


सम्बन्धित समाचार