आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेपछि जनजीवन तहसनहस भएको छ । हावाहुरीका कारण हजारौं घरहरूमा क्षति पुगेको छ र यातायात सञ्जाल अवरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ । नान्मादोल आँधीलाई चौथो वा पाँचौं वर्गको जत्तिकै शक्तिशाली मानिएको छ । आँधीका कारण आगामी २४ घण्टामा ४ सय मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको छ ।
आँधीका कारण राजधानी टोकियोमा पनि ठूलो वर्षा गराएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । टोकियोको टोजाई भूमिगत लाइन बाढीका कारण बन्द भएको छ भने बुलेट रेल सेवा, फेरी र सयौं उडान रद्द भएको जनाइएको छ । कतिपय कार्यालय, पसल तथा व्यवसाय पनि खुल्न सकेका छैनन् । सञ्चारमाध्यमहरूमा सार्वजनिक भिडियोमा भवनका छानाहरू उडेका र अन्य संरचनाहरू भत्किएको देखिन्छ ।
विज्ञहरूले नान्मादोल आँधी शुक्रबार पूर्वी क्षेत्रतर्फ जाने र जापानको मुख्य टापु होन्सु हुँदै बुधबार पुनः समुद्री क्षेत्रमा पस्ने पूर्वानुमान गरेका छन् ।
जलवायु परिवर्तनका कारण प्रशान्त महासागर र क्यारेबियन सागरको सतह तातो हुने भएकाले समुद्री आँधीको संख्या बढ्ने तथा ती आँधी शक्तिशाली हुने वैज्ञानिकहरूको भनाइ छ ।