Logo

१ चैत, जनकपुरधाम । मधेश प्रदेश सरकारले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भइरहेको पाइएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल र पोलिक्लिनिकहरूको विहीबार साँझ अनुगमन गरेको थियो ।

त्यसक्रममा अवैधानिक तथा अनाधिकृत रूपमा सञ्चालन भइरहेको पाइएका १५ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

अनाधिकृत रुपमा सञ्चालनमा रहेका ती १५ वटैलाई बन्द गर्न सरकारले निर्देशन दिएको छ । सेवा सञ्चालन अनुमति लिएका तर नवीकरण नगरेका तीन निजी स्वास्थ्य संस्थालाई भने दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

अनुगमनपछि जयश्री ओम हेल्थ केयर प्रालि, तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको हो ।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री अनुगमनमा आएको खबर फैलिएपछि मलंगवाका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक सञ्चालक र कर्मचारीहरू फरार भएका थिए ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार म्याक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसिस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर प्रालि, चन्द्रकला पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिइएको छ ।

यसैगरी इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्स–रे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धीदाता हेल्थ केयर प्रालि र देवश्री पोलिक्लिनिक प्रालिलाई पनि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएको प्रेस सल्लाहकार कर्णले बताए ।


सम्बन्धित समाचार