Logo

११ माघ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले निजी विद्यालयलाई सरस्वती पुजाको नाममा विद्यार्थीसँग चन्दा नलिन र लिएको भए फिर्ता दिन उर्दी जारी गरेको छ ।

निजी विद्यालयले सरस्वती पूजाको नाममा चन्दा संकलन गरिरहेकाले यस्ता कार्य तत्काल रोक्न महानगरपालिकाले संस्थगत विद्यालयलाई सूचना मार्फत सचेत गराएको हो ।

महानगरमा रहेका निजी विद्यालयहरुले सरस्वती पूजा मनाउने नाममा विद्यार्थीसँग मनलाग्दी ढंगले चन्दा माग गरेकोे समाचार रेसखवर डटकममा प्रकाशन भएको थियो ।

संस्थागत विद्यालयहरुले विद्यार्थीसँग पूजाको नाउँमा चन्दा लिएको भन्दै अभिभावक संघ पर्साले वीरगञ्ज महानगरपालिकामा लिखित उजुरी गरेको थियो । महानगरको कार्यालयमा उजुरी परेको भन्दै शैक्षिक प्रशसन महाशाखाले ऐन तथा नियमावली बाहेकका कुनै पनि शीर्षक तथा बहानामा चन्दा तथा शुल्क उठाउने कार्य तत्काल बन्द गर्न सूचना जारी गरेको हो ।

यसैबिच महानगरपालिकाले जारी गरेको सूचनाकोे मिश्रित प्रतिक्रियाहरु आउन थालेको छ । महानगरपालिकाले सरस्वती पूजाको दुई दिन मात्र बाँकी हुँदा यस्तो सुचना निकाल्नु औचित्यहिन भएको कतिपयले टिप्पणी गरेका छन् ।

त्यस्तै महानगरपालिकाले निकालेको सुचना संस्कृति माथिको प्रहार भएको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीको तर्क छ ।

नेपालका अधिकांश विद्यालयमा सरस्वतीको पूजा गर्ने प्रचलन रहेको र विद्यार्थीहरुलाई संस्कृति र संस्कारको जानकारी गराउन पनि भूमिका रहने हुँदा सरस्वती पूजामा स्वेच्छाले दिने चन्दालाई अन्यथा लिन नहुने तर शुल्क लिएको भनेर महानगर जस्तो जिम्मेवार निकायले रोक लगाउनु चाहिँ संस्कृतिमाथिको प्रहार भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन ।

कतिपय विद्यालयमा सरस्वती पूजा गर्दा पुरी, जेरी पकाएर प्रसादको रुपमा वितरण गर्ने हुँदा त्यसको व्यावस्थापन कसरी गरिन्छ भन्ने सन्दर्भमा विद्यार्थीहरुलाई व्यवस्थापकीय पक्षको सिकाईका लागि पनि सहयोगी हुने प्राध्यापक द्विवेदीले बताए ।

सुचना एक महिना पहिला नै आएको भए राम्रो हुन्थ्यो दुईदिन बाँकी हुँदा आउँदा यसले नकारात्मक सन्देश दिएको द्विवेदीको भनाई छ । सरस्वती पूजाको चन्दा विद्यालयले विगत १ महिना देखि नै असुली गर्दै आएका छन् तर पुजाको तयारीका लागी सामग्री किनमेल गर्ने दिनमा महानगरले यस्तो निर्णय गर्नु गलत भएको अभिभावक उमेश सरार्फले बताए ।

चन्दा संकलन भईसकेपछि महानगरले चालेको यस्तो कदमले संस्थागत विद्यालयले रकम फिर्ता गर्लान त ? भन्दै अभिभावकहरुले प्रश्न गर्न थालेका छन् । अभिभावकहरुको हित र शैक्षिक माफियाहरुको गलत प्रवृत्तिलाई रोक्न महानगरले सूचना जारी गरेको भएपनि सरस्वती पुजा माघ १२ गते भोली रहेकोे र हिजो साझँ मात्रै उक्त सुचना आउनु औचित्यहिन रहेकोे अभिभावक अशोक यादवले बताए ।

वीरगन्जमा रहेका अधिकांश निजी विद्यालयले सरस्वती पूजा मनाउनका लागि विद्यार्थीसँग प्रति विद्यार्थी एकसय देखि ४ सय रुपैयाँसम्म मागेको भन्दै तीन दिन अघि अभिभावक संघ पर्साले एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।


सम्बन्धित समाचार