Logo

३ चैत,वीरगञ्ज । मुख्यमन्त्री सतिस सिंहले सप्तरीको राजविराजस्थित निजी अस्पतालहरुमा अनुगमन गरेका छन्। अनुगमनको क्रममा दुईवटा अस्पताल नियमविपरीत सञ्चालन भएको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहले राजविराजस्थित सातवटा निजी अस्पतालको अनुगमन गरेका थिए, जसमध्ये प्रसूति तथा स्त्रीरोग क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टरलाई नियमविपरीत सञ्चालन गरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिइएको हो।

प्रसूति तथा स्त्रीरोग क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिए पनि शय्या राखी इमेजिङ तथा शल्यक्रियासहितको सुविधा उपलब्ध गराउँदै आएको पाइएको छ। यस्तो सुविधासहितको स्वास्थ्य सेवा सञ्चालन गर्न पोलिक्लिनिकका रूपमा प्रदेश सरकारबाट सेवा सञ्चालन अनुमतिपत्र लिने प्रावधान छ, तर त्यस्तो अनुमतिपत्र लिइएको नपाइएको बताइएको छ।

त्यसैगरी, भारती इमेजिङ सेन्टरसँग सेवा सञ्चालन गर्ने अनुमतिपत्र नरहेकोले यसलाई बन्द गर्न निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताए।

अनुगमनका क्रममा अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ। सेवा सञ्चालन अनुमति प्राप्त गरेको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ। दुई सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक भेटिए पनि सरसफाइ व्यवस्थापनमा थप जोडबल गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।

 


सम्बन्धित समाचार