Logo

६ चैत, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । आज राति ७ बजेर २५ मिनेटदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतवार दिउँसो १ बजेर १७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ ।

यो अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने समितिले जनाएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् ।

हिन्दुधर्म अनुसार हरेक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भनिन्छ ।

ज्योतिषीय मान्यताअनुसार शुक्र अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म विभिन्न धार्मिक क्रियाकलाप गर्नु हुँदैन ।

धार्मिक मान्यताअनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कर्म हुन्छन् । नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ पर्छन् ।

नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।

काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्य जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाहआदि अनुष्ठान र व्रतबन्ध–विवाहलगायतका संस्कार पर्छन् ।


सम्बन्धित समाचार