Logo

१२ माघ, ठोरी पर्सा । पर्साको ठोरीमा पहिलोपटक स्नातक तहको अध्ययन सुरु हुन लागेको विजयवस्ती क्याम्पसको औपचारिक शुभारम्भ भएको छ । आज ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले क्याम्पस उद्घाटन सम्बन्धी ताम्रपत्रको अनावरण गर्दै क्याम्पसको औपचारिक शुभारम्भ गरेका हुन्।

बसन्त पन्चमीको अवसर पारेर कार्यक्रम हाललाई क्याम्पस संचालन गर्ने विजयवस्ती माध्यामिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरुले क्याम्पस स्थापना गर्नुभन्दा पनि सन्चालन गर्न चुनौतीपुर्ण रहेकोले दीगो आर्थिक व्यवस्थापनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्रेष्ठले क्याम्पसलाई दीर्घकालसम्म सन्चालन हुने वातावरण निर्माण गाउँपालिकाले गर्ने बताए।

यस्तै आवश्यक परेको अवस्थामा ठोरीमा स्नातक तहसम्म निशुल्क शिक्षाको व्यवस्था गर्न पनि गाउँपालिका तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । हाल ठोरीमा कक्षा १२ सम्म निशुल्क पठनपाठन हुदै आएको छ ।

सोही कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले क्याम्पसले आवश्यक ठानेमा निशुल्क अध्यापन गर्न तयार रहेको उद्घोष गरिन्। यस्तै नेपाली काङ्ग्रेस मधेस प्रदेश समितिका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले क्याम्पसको जगेर्ना गर्ने पहिलो दायित्व ठोरी गाउँपालिकाको भएको र आफुहरुको पनि साथ रहने प्रतिबध्दता व्यक्त गरेका थिए।

यस्तै ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पदमलाल श्रेष्ठले क्याम्पस सन्चालनमा आफ्नो क्षेत्रबाट सबै साथ र सहयोग रहने प्रतिबध्दता व्यक्त गरे।

कार्यक्रममा ठोरी वडा नं. ४ का वडाध्यक्ष मान बहादुर थिङ, काङ्ग्रेस ठोरी सभापति सन्तोष श्रेष्ठ, एमाले ठोरी अध्यक्ष खगेन्द्र श्रेष्ठ, विजयवस्ती माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण लामा, सो विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस स्थापनामा महत्त्वपूर्ण सहयोग पुर्याएको भन्दै काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठलाई सम्मान गरिएको थियो। कार्यक्रममा ठोरीका जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

शिक्षा शास्त्र संकाय अध्यापन हुने क्याम्पसमा माघ १५ गते आइतबारदेखि नियमित पठनपाठन हुने क्याम्पस प्रमुख गोपिलाल श्रेष्ठले जानकारी दिए।


सम्बन्धित समाचार