Logo

१७ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पिपरा स्थित जेष्ठ नागरिक पार्कलाई महात्मागान्धी पार्क र पिप्रा लिङ्क रोडलाई महात्मा गान्धी पथ राख्नेगरी कार्ययोजना अगाडी बढाएको प्रति स्थानीयवासीले आपत्ति जनाएका छन ।

वीरगञ्ज महानगरपालिकाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन । महानगरपालिकाले माघ १९ गते बिहिवार पिपरा लिङ्क रोडको नाउँ हटाए महात्मागान्धी (एमजी) रोड नामाकरणगरी उदघाट्न गर्ने भएको छ ।

झण्डै ४ सय मिटर लामो सडकको उद्घाटन गर्न बिहिवार मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव वीरगञ्ज आउदै छन । बिहिबार उद्घाटनको तयारी भइरहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडलले बताए ।

महानगरका मेयर राजेशमान सिंहले पिपरामा रहेको जेष्ठ नागरिक पार्कमा समेत महात्मा गान्धीको शालिक राख्ने योजनामा छन् । उनले जेष्ठ नागरिक पार्कलाई समेत महात्मा गान्धी पार्क नामाकरण गर्ने योजना भारतीय दुतावासमा पठाएको महानगरका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

जेष्ठनागरिक पार्कमा महात्मा गान्धीको शालिक राख्ने र पार्कको नाम समेत उनैको नाउँबाट राख्नेगरी ४०/५० करोडको डिपिआर तयार पारेर दुतावास पठाइएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी दिए । उनले तत्काल भारतीय दुतावासले वीरगञ्ज महानगरपालिकालाई महात्मा गान्धी पार्क निर्माणको लागि १० देखि १५ करोड रकम दिने कुरा भइरहेको प्रशासकिय अधिकृत पौडेलले बताए ।

जेष्ठ नागरिक पार्कमा महात्मा गान्धीको शालिक बनाउने र पार्कको नाउँ समेत महात्मा गान्धी राख्ने शर्तमा भारतीय दुतावासले सिधै वीरगञ्ज महानगरपालिकामा लगानी गर्ने प्रस्ताव गरेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । उनले दुतावासको रकम आएपछि मात्र बोर्ड बैठकमा छलफल हुने बताए ।

उनले सडकको नामाकरणको लागि महानगरपालिकाको बोर्डको निर्णय नचाहिने बताए । उनका अनुसार रोडको नाउँ महानगरपालिकाले गर्ने भएकोले स्थानीयवासीको राय वा सुझाव लिन आवश्यक नभएको जानकारी दिए ।

यता युवा समाज पिपराका अध्यक्ष अनिल पटेल, नेकपा माओवादी केन्द्र वडा नं. १४ का अध्यक्ष महेश पटेल, नेकपा एसका वडा नं. १४ का अध्यक्ष मदन प्रसाद कुर्मीले लगायतले पिपराका ऐतिहासिक र यसको धार्मिक पक्षलाई ख्याल नगरि गैर नेपालीको नाउँमा नामाकरण गर्न खोज्नुले स्थानीय संस्कृतिमाथिको प्रहार भएको बताएका छन् । उनीहरुले आज वडा नं १४ का वडा अध्यक्ष मेहबुब एलहीलाई ज्ञापन पत्र बुझाएका छन ।

पिपरा लिङ्क रोड टोल विकास समितिले समेत यसको विरोध गर्दै विज्ञप्ती जारी गरेको थियो । मेयरले व्यक्तिगत स्वार्थका लागि महात्मा गान्धीको नाउँ राख्न खोजेको आरोप स्थानीयहरुले लगाएका छन् ।


सम्बन्धित समाचार