Logo

१८ माघ, वीरगञ्ज । गएको पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जबाट जरायो मारेर शिकार गरेको अभियोगमा पक्राउ परेका ७ जना विरुद्धको अनुसन्धान पुरा गरेर भोली सरकारी वकिल कार्यालय पर्सा मार्फत मुद्वा दर्ता हुने भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जले उनीहरुको अनुसन्धान तथा वयान लिने काम पुरा गरेकोले भोली बिहिवार अन्तिम दिन सरकारी वकिल कार्यालय मार्फत मुद्वा दर्ता गरिने निकुञ्जले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुको बयान लिइएको छ । घटनामा संलग्न १२ जना मध्ये ७ जनालाई निकुञ्जको हिरासतमा राखेर अनुसन्धान गरेको थियो भने प्रदेश सभासदस्यहरु सहित ३ जनालाई तारेख राखेर बयान लिइएको छ । अन्य २ जना फरार भएको निकुञ्जले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको टोलीले उनीहरूको साथबाट मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको थियो । साथै बा ५ त ७८०५ नम्बरको टोयोटा गाडी, र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको थियो । प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी सखुवा प्रसौनी गाउँपालिकाका पुर्ब अध्यक्ष प्रदिप जैसवालको जैसवाल ईन्टरप्राईजेजको नाममा दर्ता रहेको छ ।

निकुञ्जको सुरक्षा टोलीले सुखवा पुर्सौनी गाउँपालिका–१ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज बस्नेत, ४६ वर्षीय विशाल सहनी, काभ्रे साँगा–६का ५० वर्षीय दामोदार अधिकारी, धादिङ गंगाजमुना गाउपालिकाका २ का करिब ५२ वर्षीय मालदोङ तामाङलाई नियन्त्रणमा लिएको हो । पछि नियन्त्रणमा लिएका २ जनाको नाउँ भने निकुञ्जले सार्वजनिक गरेको छैन ।

निकुञ्जका अनुसार पक्राउ परेका लक्षमण सहनी भन्ने विशाल सहनी यअसघि गाँजा तस्करमा कारबाही भोगेको व्यक्ति हुन् भने अधिकारी नेपाली सेनाका पूर्व हवल्दार हुन् ।

सो घटनामा जरायो मार्न प्रयोग भएको बन्दुक काठमाडौँ निर्वाचन क्षेत्र नं ५ (ख) बाट निर्वाचित खड्काको नाममा रहेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोकरामले जानकारी दिए । अनुसन्धानको क्रममा प्रदेश सभासदस्य श्याम खड्का चोरी सिकारी मुद्दामा संलग्न भएको नभेटिए पनि हातहतियार तथा खरखजना मुद्दामा प्रहरीले अनुसन्धान गर्ने प्रमुख संरक्षण अधिकृत अशोकरामले भने, ‘बयानको क्रममा उहाँले हतियार मेरो हो भनिसक्नु भएको छ, हतियार लाइसेन्स प्राप्त भएपनि त्यसको अवैध ढंगले प्रयोग भएको देखिएको छ यो अनुसन्धानको बिषय भएकोले प्रहरीले नै अनुसन्धान गर्छ ।’

निकुञ्जले गरेको अनुसन्धानमा प्रदेशसभा सदस्य प्रमोद जैशवाल र उनको भाइ प्रदीप जयसवालको तुलनामा वाग्मती प्रदेशसभा सदस्य खड्काको प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको निकुञ्जले जनाएको छ । ‘यो घटनामा हामीले आफ्नो पाटोबाट वन्यजन्तु चोरी सिकारीमा अरु को को संलग्न हुनसक्छन् भनेर अनुसन्धान गरेका छौ । बिस्तृत जानकारी भोली पत्रकार सम्मेलन गरेर दिने छौ उनले भने ।

निकुञ्जभित्र हातहतियार सहित वन्यजन्तु चोरी सिकारी भएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट), हातहतियार तथा खरखजना मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्सा, नेपाली सेनाको अनुसन्धान ब्युरो र पर्सा राष्ट्रिय निकुञ्जले रेन्जर विष्णु पौडेलको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाएर अनुसन्धान गरेको थियो ।

पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी सूर्य खड्काले हातहतियार तथा खरखजना र अवैध रूपमा निकुञ्ज प्रवेश गरेर वन्यजन्तु चोरी सिकारी गरेकोले सो घटनामा २ वटा मुद्दामा दर्ता हुने जनाएका छन् । जनावरको हकमा चित्तल र जरायो संरक्षित जनावरभित्र नपर्ने भएकाले २० देखि ५० हजार सम्म जरिवाना र ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने खड्काले जनाएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रदेश सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकारी भइरहेको पाइएको छ । तस्करहरु निकुञ्जको आडैमा रहेको प्रदेश सांसद जैसवालको घरबाट पक्राउ परेको संरक्षण अधिकृत रामले जानकारी दिए ।

‘एउटा घरलाई सेल्टर बनाएर संगठित रुपमा चोरीशिकारी गर्ने किसिमले बन्दोबस्तीका सामान र हतियारसहित बसेको पाइयो,’ रामले भने, ‘उक्त घरबाट जरायोको सिंहसहितको टाउको र हातहतियार फेला पा¥यौं ।’

उक्त घटनामा संलग्न उपेन्द्र यादव, कुमार तामाङ र विकास सहनी फरार रहेको निकुञ्जले जनाएको छ । यादव वन्यजन्तु चोरी तस्करीको कारोबारी रहेको र विकास सहनी सार्प सुटर रहेको रामले जानकारी दिए । उक्त घटनामा दिपक बस्नेत भन्ने व्यक्ति पनि फरार रहेको निकुञ्जका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

निकुञ्जको टोलीले काठमाडौं–१७ घर भएका सञ्जिव शाहीको नाममा रहेको बा ५ ख ७८०५ नम्बरको ल्यान्ड क्रुजर गाडी एक थान, दुईवटा जरायो, १२ बोर नाल १ वटा, नाइट भिजन राइफल स्कोप, ९ थान गोली, टर्च लाइट, बन्दुक राख्ने २ वटा झेला, २ थान आईफोन, मोबाइल फोनलगायतका सामग्रीहरु बरामद गरेको थियो ।

संरक्षण अधिकृत रामले भने, ‘घटनाको प्रकृति हेर्दा, एउटा घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरीशिकारी संगठित रुपमा भइरहेको देखिन्छ । बरामद गरिएका सामग्रीहरु पनि त्यही पुष्टि गर्छन् ।’ सिकारी टोलीले ड्रोनको समेत प्रयोग गर्ने गरेको पाइएको छ ।

पुस ३ गते पनि जंगलबाट जरायो मारेर सांसद जैसवालको घरमा लगिएको र मासु भागलगाएर तस्करी गर्न गाडीमा पठाइएको स्रोतले जनायो । गस्ती टोलीले त्यही जरायोको टाउको घरमा फेला पारेको थियो ।


सम्बन्धित समाचार