Logo

२९ वैशाख, नयाँ दिल्ली । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावपछिको पहिलो सार्वजनिक सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्धको संघर्षमा भारत कहिल्यै पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्।

प्रधानमन्त्री मोदीले राष्ट्रका नाम सम्बोधन गर्दै भने, “भारतको कारबाही पाकिस्तानको सेनाविरुद्ध होइन, उनीहरूको भूमिमा आश्रय लिएका आतंकवादी र उनीहरूको पूर्वाधारविरुद्ध हो।”

प्रधानमन्त्री मोदीका अनुसार, पाकिस्तानले सीमा क्षेत्रमा हमला गर्ने तयारी गरिरहेकै बेला भारतले आतंकवादको केन्द्रमा प्रहार गरेको हो। “हामीले उनीहरूको योजना बुझ्यौं, तर उनीहरू सीमा पार गरून् भनेर कुर्न बसेनौं। हामी सिधै आतंकका केन्द्रहरूमा पुगेका छौं,” प्रधानमन्त्री मोदीले भने।

प्रधानमन्त्री मोदीले आतंकवादको अन्तर्राष्ट्रिय केन्द्र बनेका भवालपुर र मुरिदकेमा कारबाही भएको खुलासा गरे। यी स्थानहरूका आतङ्ककारी समूहहरू ९र ११ जस्ता ठूला घटनासँग पनि जोडिएका थिए।

हाम्रा महिलाहरूको सिन्दूर अपमानित गरियो। अब हामीले आतंकको त्यो मुख्यालय नै समाप्त गरिदियौं, प्रधानमन्त्रीले भावुक हुँदै भने।

प्रधानमन्त्रीका अनुसार, विश्वले पाकिस्तानको सैन्य अधिकारीहरूलाई आतंककारीहरूको सम्मानमा सहभागी देखेको छ, जसले पाकिस्तानको राज्य प्रायोजित आतंकवादलाई प्रमाणित गरिदिएको छ।

प्रधानमन्त्री मोदीले स्पष्ट पारे कि अब पाकिस्तानसँग वार्ता, व्यापार वा आतंकवाद एउटै समयमा सम्भव छैन। “अब वार्ता हुनेछ भने त्यो आतंकवाद र पाकिस्तान अधीकृत कश्मीर (PoK) को सन्दर्भमा मात्र हुनेछ,” उनले भने।

यो सम्बोधन अप्रिल २२ मा जम्मु–काश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि सुरु भएको ‘अपरेशन सिन्धूर’ सँग सम्बन्धित पहिलो उच्चस्तरीय सार्वजनिक वक्तव्य हो।

🔶 ११ वटा पाकिस्तानी एयर बेस ध्वस्त, ४० सैनिक मारिए

भारतीय सेना, नौसेना र वायुसेनाका तीन प्रमुख अधिकारी — लुटिनेन्ट जनरल राजीव घई (थलसेना), भाइस एडमिरल ए एन प्रमोद (नौसेना) र एयर मार्शल ए के भारती (वायुसेना)  ले संयुक्त पत्रकार सम्मेलनमा ‘अपरेशन सिन्धूर’ को विवरण सार्वजनिक गरे।

उनीहरूले पाकिस्तानमा रहेका ११ वटा सैन्य हवाई अड्डा ध्वस्त गरिएको र पाकिस्तानको सैनिक क्षमतामा गम्भीर क्षति पुर्याइएको पुष्टि गरे। मे ७ देखि १० सम्मको अवधिमा सीमा क्षेत्रमा भएको गोली हानाहानमा ३५–४० जना पाकिस्तानी सैनिक मारिएको जानकारी पनि सेनाले दिएको छ।

🔶DGMO तहको भारत–पाक वार्ता सुरु, परिणाम सार्वजनिक भइसकेको छैन

सोमबार दिउँसो १२ बजेका लागि तय गरिएको भारत र पाकिस्तानबीचको DGMO स्तरको वार्ता बेलुकी ५ बजेपछि मात्रै सुरु भएको थियो।
हालसम्म वार्ताको नतिजा सार्वजनिक गरिएको छैन।

भारतीय सेनाले भने वार्तामा मे १० मा भएको सहमतिका बुँदाहरू विशेषगरी सीमानामा कारबाही रोक्ने विषयमा छलफल भएको बताएको छ।

🔶 पाकिस्तानको युद्धविराम उल्लंघन र भारतीय चेतावनी

भारत र पाकिस्तानले भूमि, आकाश र समुद्र तीनै क्षेत्रमा शत्रुता अन्त्य गर्ने सहमति गरेको केही घण्टापछि नै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतको आरोप छ।

शनिबार राति जम्मु–काश्मीरका विभिन्न क्षेत्रमा ड्रोन देखिएको र विस्फोटको आवाज सुनिएको थियो।

भारतीय विदेश सचिव विक्रम मिस्रीले पाकिस्तानलाई गम्भीरता र जिम्मेवारीका साथ व्यवहार गर्न चेतावनी दिएका छन्।

🔶 मोदी निवासमा उच्चस्तरीय बैठक, ब्रह्मोस परीक्षण केन्द्र उद्घाटन

प्रधानमन्त्री मोदीले आइतबार रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र तीनै सेनाका प्रमुखहरूसँग उच्चस्तरीय बैठक गरेका थिए।
बैठकपछि रक्षामन्त्री सिंहले लखनउस्थित ब्रह्मोस एयरोस्पेस परीक्षण तथा एकीकरण केन्द्रको भर्चुअल उद्घाटन समेत गरे।

🔶 भारतको भनाइः DGMO वार्ताबाहेक अन्य कुनै संवाद छैन

भारतले पाकिस्तानसँग DGMO स्तरमा मात्रै संवाद हुने र अन्य कुनै विषयमा वार्ता नहुने स्पष्ट पारेको छ।
यसैबीच भारतले हालै मारिएको लश्कर–ए–तोइबा (LeT) का आतंकवादी अब्दुल रउफको अन्त्येष्टिमा सहभागी पाकिस्तानी अधिकारीहरूको नामसमेत सार्वजनिक गरेको छ।

🔶 पाकिस्तानको शान्तिपूर्ण संवादको अपिल

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शान्तिपूर्ण संवादमार्फत जलस्रोत बाँडफाँड र काश्मीरजस्ता दीर्घकालीन मुद्दा हल गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।


सम्बन्धित समाचार