३१ बैशाख, बारा । रौतहट जिल्लाको बंकुल नजिक नेपाल–भारत सीमा क्षेत्रबाट एक युवतीलाई दिल्लीमा बेच्न लैजाँदै गरेको अवस्थामा सिम्रौनगढका एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका युवकले गाउँकै एक युवतीलाई प्रेम जालमा फसाई घोडासहन हुँदै दिल्ली लगिरहेको एसएसबी ७१ बटालियन जमुनियाका इन्स्पेक्टर राजनन्दन कुमारले जानकारी दिए । एसएसबीले युवक र युवतीलाई नियन्त्रणमा लिई गहिरो अनुसन्धान सहित सोधपुछ गर्दा उक्त रहस्य खुलेको हो।
पक्राउ परेका युवक र युवती दुवै बारा जिल्लाको सिम्रौनगढ नगर अन्तर्गतको एक गाउँका बासिन्दा हुन्। एसएसबीले आवश्यक कागजात पुरा गरी युवतीका आफन्त, नेपाल प्रहरी, सशस्त्र प्रहरी र एक गैरसरकारी संस्थाको उपस्थितिमा युवक र युवतीलाई नेपाल प्रहरीलाई बुझाएको छ।
यस घटनाले मानव बेचबिखनको गम्भीर समस्यालाई उजागर गरेको छ। नेपाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। पहिले मुख्य नाकाहरुबाट चेलीबेटी बेचबिखन हुने गरेकोमा अहिले मानव तस्करहरुले अन्य सुरक्षित नाकाहरुको प्रयोग गर्न थालेको यो घटनाले पुष्टि गरेको छ ।

















