५ जेठ,काठमाडौं । चीनको अग्रणी ईभी निर्माता कम्पनी बीवाईडीले विश्वकै सबैभन्दा ठूलो कारवाहक जहाज ‘बीवाईडी सेन्जेन’ लाई सञ्चालनमा ल्याएर नयाँ कीर्तिमान स्थापित गरेको छ। यो विशाल जहाजले एकैपटक ९ हजार २०० सवारी साधन बोक्न सक्ने क्षमता राख्दछ, जसले विश्वव्यापी विद्युतीय सवारी साधनको ढुवानीमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
७२१ फिट लामो र १२३ फिट चौडाइ भएको ‘बीवाईडी सेन्जेन’ मा १६ वटा तल्ला रहेका छन्, जसले ठूलो संख्यामा सवारी साधनलाई व्यवस्थित रूपमा अटाई सुरक्षित ढुवानी गर्न मद्दत गर्दछ। यो जहाज १९ नट (लगभग ३५ किलोमिटर प्रतिघण्टा) को अधिकतम गतिमा चल्न सक्छ।
पर्यावरण संरक्षणलाई प्राथमिकता दिँदै बीवाईडीले यो जहाजमा अत्याधुनिक प्रविधिहरू समावेश गरेको छ। यसमा एलएनजी डुअल–फ्युल सिस्टम र ब्याट्री हाइब्रिड प्रणाली जडान गरिएको छ, जसले परम्परागत इन्धनको तुलनामा उत्सर्जनलाई उल्लेखनीय रूपमा कम गर्छ। बन्दरगाहमा रहँदा जहाजले शोर पावर प्रयोग गर्ने हुँदा डिजेल इन्जिनको आवश्यकता पर्दैन र वायु प्रदूषण न्यूनीकरण हुन्छ।
यसका अतिरिक्त, जहाजमा नाइट्रोजन अक्साइड उत्सर्जन घटाउने प्रविधि जडान गरिएको छ। जहाजको बाहिरी सतहमा प्रयोग गरिएको विशेष पेन्ट र ऊर्जा–बचत डिजाइनले इन्धन खपतलाई कम गर्छ। साथै, स्मार्ट नेभिगेसन र म्यानेजमेन्ट सिस्टमले सवारी साधनको सुरक्षित र व्यवस्थित ढुवानीमा सहयोग पु¥याउँछ।
बीवाईडीले यो जहाजमार्फत आफ्ना विद्युतीय सवारी साधनलाई विश्वका विभिन्न बजारमा प्रभावकारी रूपमा पु¥याउने लक्ष्य राखेको छ। कम्पनीले विशेषगरी दक्षिण अमेरिका, युरोप र अन्य क्षेत्रमा आफ्नो बजार विस्तार गर्ने योजना बनाएको छ। ‘बीवाईडी सेन्जेन’ को सञ्चालनले कम्पनीको विश्वव्यापी आपूर्ति श्रृंखलालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
विद्युतीय सवारी साधनको क्षेत्रमा मात्र नभई समुद्री ढुवानी र पर्यावरणमैत्री प्रविधिमा समेत बीवाईडीले आफ्नो नेतृत्व कायम राखेको छ। ‘बीवाईडी सेन्जेन’ को सञ्चालन कम्पनीको नवप्रवर्तन र दिगो भविष्यप्रतिको प्रतिबद्धताको बलियो उदाहरण हो।















