Logo

५ जेठ,काठमाडौं । इजरायलले १० हप्तादेखिको नाकाबन्दीलाई आंशिक रूपमा खुकुलो गर्दै गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ। इजरायली सेनाको सिफारिसमा यो निर्णय लिइएको हो। यो कदम ओपरेशन गिडियन्स चारियट नामक हमास विरुद्धको नयाँ सैन्य कारबाहीलाई समर्थन गर्ने उद्देश्यले चालिएको बताइएको छ। इजरायलले हमासले मानवीय सहायता वितरणमा नियन्त्रण जमाउन नपाओस् भन्ने सुनिश्चित गर्ने प्रयास गर्ने पनि जनाएको छ।

यसैबीच, गाजामा इजरायली स्थल आक्रमण थप तीव्र भएको छ। पछिल्लो २४ घण्टामा खान युनिस, बेत लाहिया र जबालिया शरणार्थी शिविरमा भएका आक्रमणहरूमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन्।

आक्रमणका कारण उत्तरी गाजाका इण्डोनेसियाली अस्पतालसहित थुप्रै अस्पतालको सेवा बन्द भएको छ। अस्पतालका स्वास्थ्यकर्मीहरूले बिना चेतावनी आक्रमण भएको बताएका छन्। इजरायलले भने हमासका संरचना र लुकेका केन्द्रहरूलाई लक्ष्य बनाएको दाबी गरेको छ र अस्पतालमुनि हमासको केन्द्र रहेको आरोप लगाएको छ।

अर्कोतर्फ, विभिन्न मानवीय संस्थाहरूले गाजामा भोकमरीको जोखिम गम्भीर बन्दै गएको चेतावनी दिएका छन्। कतारमा युद्धविरामका लागि वार्ता जारी रहे पनि हमासले इजरायलको कठोर अडानका कारण कुनै प्रगति हुन नसकेको बताएको छ। हमासले पूर्ण युद्धविराम र मानवीय सहायताको निर्वाध प्रवेशको बदलामा सबै बन्धक रिहा गर्ने प्रस्ताव गरेको छ, तर इजरायलले भने केवल अस्थायी युद्धविराम मात्र चाहेको जनाएको छ।


सम्बन्धित समाचार