Logo

 १९ जेठ, पर्सा, सेंढवा । पर्सा जिल्लामा अनुमति नलिई सञ्चालन भएका संस्थागत विद्यालयहरु बन्द हुँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको सामुदायिक विद्यालयमा भर्ना हुन समस्या भएको छ।

जिराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोलामा सञ्चालित एक संस्थागत विद्यालय चालू शैक्षिक सत्र २०८२ को वैशाखदेखि बन्द भएपछि त्यहाँका करिब ८० जना विद्यार्थीहरु बिचल्लीमा परेका छन्। उनीहरुलाई अन्य सामुदायिक तथा संस्थागत विद्यालयमा भर्ना लिन नमान्दा अभिभावकहरु चिन्तित भएका छन्।

शिक्षकहरुका अनुसार नेपाल सरकार शिक्षा तथा प्राविधि मन्त्रालयले गत शैक्षिक सत्र २०८१ देखि सबै संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अनिवार्य एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) भर्ने नीति कार्यान्वयन गर्न निर्देशन दिएको थियो। तर, ती विद्यार्थीहरुको (IEMIS) विवरण नभरिएको कारण अन्य विद्यालयमा भर्ना हुन समस्या भएको हो।

(IEMIS) प्रणालीअनुसार विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीको व्यक्तिगत सम्पूर्ण विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ। नयाँ शैक्षिक सत्रमा बालविकासबाट कक्षा १ मा भर्ना हुने वा अन्य कक्षामा भर्ना हुन चाहने विद्यार्थीको हकमा अध्ययन गरिरहेको विद्यालयले भर्ना हुने विद्यालयको (IEMIS) आईडीमा ट्रान्सफर गरेपछि मात्र भर्ना प्रक्रिया अगाडि बढ्ने प्रावधान छ।

तर, नौकाटोलाको बन्द भएको विद्यालयका विद्यार्थीहरुको (IEMIS)  विवरण नै नभरिएकाले कुनै पनि विद्यालयले भर्ना लिन नमिल्ने जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ का अभिभावक रामशिष रामले गुनासो गरे।

अभिभावक रामले बताएअनुसार छोरीको (IEMIS) ट्रान्सफरका लागि गाउँको सामुदायिक विद्यालयमा जाँदा विद्यालयमा छोरीको (IEMIS) विवरण नै नरहेको जानकारी पाए। राम जस्तै अन्य धेरै अभिभावकहरु पनि यस्तै समस्या भोगिरहेका छन्। कतिपय संस्थागत विद्यालयले कक्षा तीनसम्मको अनुमति लिएर कक्षा छवसम्म सञ्चालन गर्दा अनुमतिभन्दा माथिल्लो कक्षाका विद्यार्थीहरुको भर्ना गर्न पनि समस्या भएको छ।

धोबिनी गाउँपालिकास्थित नेरामावि भिखमपुरका प्रधानाध्यापक बिनय कुमार कुर्मीले नयाँ भर्नाका लागि आएका कतिपय विद्यार्थीहरुको (IEMIS)  विवरण नभएकाले भर्ना गर्न नमिल्ने बताए। सीमावर्ती भारतीय बजार इनरवामा सञ्चालित निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको पनि (IEMIS) विवरण नभएका कारण भर्ना लिन नसकिएको उनले जानकारी दिए।

यस विषयमा जिराभवानी गाउँपालिकाका शिक्षा शाखा अधिकृत शिवराज फूयालले (IEMIS) विवरण नभएका वा अद्यावधिक नभएका विद्यार्थीहरुको सामुदायिक विद्यालयमा भर्ना गर्न समस्या भएको स्वीकार गरे।

अनुमति बिना सञ्चालित विद्यालयका (IEMIS) नभएका विद्यार्थीहरुको भर्नाका लागि शिक्षा विकास तथा समन्वय इकाई पर्सा र मानव स्रोत विकास कार्यालयसँग समन्वय गरी पहल भइरहेको उनले बताए। भर्ना गर्न सम्भव भए पनि त्यस्ता विद्यार्थीहरुलाई परीक्षा लिई जरिवाना तिराएर भर्ना गर्ने अधिकृत फूयालले जानकारी दिए।

यसरी, पर्सा जिल्लामा अनुमति बिना सञ्चालित विद्यालयको लापरबाहीका कारण विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ भने (IEMIS) प्रणालीको कार्यान्वयनमा देखिएको फितलोपनले अभिभावकहरुलाई थप चिन्तित बनाएको छ। सम्बन्धित निकायले यस विषयमा तत्काल उचित कदम चाल्न आवश्यक देखिएको छ।


सम्बन्धित समाचार