Logo

६ जेठ, काठमाडौं । सुनको अभावका कारण व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कारीगर संघ संघर्ष समितिले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

संघले राष्ट्र बैंकको “विदेशी विनिमय व्यवस्थापन विभाग” लाई पत्र लेखेर सुन वितरण प्रणालीमा देखिएको असमानता र जटिलताले व्यवसायीहरू मारमा परेको बताएको छ। संघका अनुसार अहिले बजारमा उपलब्ध थोरै मात्रामा सुन ठूला व्यवसायी र संघ संस्थाहरूलाई मात्र वितरण हुने गरेको छ भने साना व्यवसायीहरूलाई पहुँचबाहिर रहेको छ।

पत्रमा भनिएको छ, ‘हाल राष्ट्र बैंकले १०० ग्राम सुन वितरण गर्ने कार्यविधि अनुसार विभिन्न जिल्लाहरू धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, बिराटनगर, वीरगञ्ज लगायतका व्यापारिक केन्द्रहरूमा सुन वितरण नभएको प्रति केन्द्रीय बैंकको ध्यानाकर्षण गराइएको छ । सुन किन्न चाहने व्यवसायीहरूको माग अनुसार देशका प्रमुख शहरमा सुन प्राप्त नहुँदा व्यवसाय नै संकटमा परेको छ।’

संघले हालै नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी पसल व्यवसायी संघबीच सुन वितरणलाई लिएर भएको सम्झौताका कारण साना व्यवसायीहरू अझै पन्छाइएको गुनासो छ। उनीहरूले भनेका छन्, “फिक्सिङ प्रणालीको नाममा सुनको समान पहुँच निषेध गरिएको छ, जुन हामीलाई मान्य छैन।”

संघले १५ दिनभित्र सुन वितरण प्रणालीलाई व्यवस्थित नगरे सो सम्बन्धमा संघीय स्तरको आन्दोलनमा जान सक्ने चेतावनी पनि दिएको छ। सस्तो दरमा सुन खरिद गर्न पाउने व्यवस्था मिलाउन, साना व्यवसायी र कारीगरहरूलाई समेत सुन वितरणको पहुँचमा ल्याउन र सुन वितरणको निर्णय प्रक्रियामा पारदर्शिता र समावेशिता कायम गर्न माग गरेका छन् ।

संघले आफूहरु वार्ता र समाधानको पक्षमा रहेको भएपनि आफूहरुले राखेको माग बेवास्ता भए कडा निर्णय लिन बाध्य हुनेपनि जनाएको छ ।


सम्बन्धित समाचार