Logo

७ जेठ,काठमाडौं । अमेरिकाले अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा केही भारतीय ट्राभल एजेन्सीहरू र तिनका वरिष्ठ अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाएको छ। यद्यपि, अमेरिकाले प्रतिबन्धित व्यक्ति वा एजेन्सीहरूको नाम भने सार्वजनिक गरेको छैन। यो कदम अमेरिकी आप्रवासन कानून र नीतिहरूलाई बलियो बनाउन तथा कानूनको शासन कायम राख्न महत्वपूर्ण रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यस वर्षको फेब्रुअरीमा केही भारतीयहरूलाई ‘अवैध आप्रवासी’ भन्दै विमानबाट देश निकाला गरिएको थियो, जसमा उनीहरूलाई हथकडी र खुट्टामा नेल लगाएका तस्बिरहरू बाहिर आएका थिए। भारतले यस विषयमा आधिकारिक प्रतिक्रिया नदिए पनि यो निर्णयले भारतबाट अमेरिका जान चाहने मानिसहरूलाई कसरी असर पार्छ भन्ने प्रश्न उठेको छ।

अमेरिकी विदेश विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि, विदेश मन्त्रालयले जानाबुझी अमेरिकामा अवैध आप्रवासनलाई प्रवद्र्धन गरेकोमा भारतका ट्राभल एजेन्सीका मालिकहरू र वरिष्ठ अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने कारबाही गरिरहेको छ। अमेरिकी दूतावास र कन्सुलटेसले अवैध आप्रवासन र मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई सक्रिय रूपमा पहिचान गर्न काम गरिरहेको जनाइएको छ।

विदेश मन्त्रालयले ट्राभल एजेन्टहरूले कसरी अवैध आप्रवासनलाई सहज बनाए भन्ने कुरा स्पष्ट पारेको छैन, तर विदेशी तस्करी सञ्जाल भत्काउन ट्राभल एजेन्सीहरू विरुद्ध यस्ता कारबाहीहरू जारी रहने बताएको छ। यो कारबाही अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २१२(क)(३)(ग) अनुसार गरिएको हो।

नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले भारतीय नागरिकहरूलाई अमेरिकामा आफ्नो निर्धारित बसाइभन्दा बढी नबस्न चेतावनी दिएको छ। यदि उनीहरूले त्यसो गरेमा, उनीहरूलाई देश निकाला गरिनेछ र देश प्रवेशमा स्थायी रूपमा प्रतिबन्ध लगाइनेछ।

सन् २०२४ को जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चुनावी अभियानका क्रममा अवैध आप्रवासीहरूप्रति कडा नीति अपनाउने वाचा गरेका थिए। सत्तामा आएलगत्तै ट्रम्पले यो वाचा कार्यान्वयन गरेको देखियो र धेरै देशका नागरिकहरूलाई अवैध आप्रवासी भन्दै उनीहरूको देशमा फिर्ता पठाइयो।

ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया (टीएएआइ) का कोषाध्यक्ष पारस लाखियाले बीबीसीसँग कुरा गर्दै डोनाल्ड ट्रम्पको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्। उनले भने कि यो अनिश्चितताले भरिएको छ र यसले धेरै अस्पष्टता सिर्जना गर्न सक्छ तथा यात्रुहरूलाई असर गर्न सक्छ। लाखियाका अनुसार, अमेरिका भारतीयहरूका लागि प्रमुख गन्तव्यहरू मध्ये एक हो किनभने धेरैजसो भारतीयहरूको परिवार, साथीभाइ र आफन्तहरू अमेरिकामा बस्छन्।

राष्ट्रपति ट्रम्पको शपथग्रहणको दुई हप्तापछि १०४ ‘अवैध भारतीय आप्रवासी’ बोकेको विमान अमृतसरमा अवतरण भएको थियो, जसमा उनीहरूलाई साङ्लोले बाँधेर राखिएको बताइएको थियो। भारत सरकारको तथ्याङ्क अनुसार फेब्रुअरीमा तीन सैन्य विमानमा ३३३ भारतीय नागरिकलाई अमेरिकाबाट भारत ल्याइएको थियो।

भारतस्थित अमेरिकी दूतावासका अनुसार २०२४ को पहिलो ११ महिनामा २० लाखभन्दा बढी भारतीयहरूले अमेरिकाको भ्रमण गरेका थिए, जुन २०२३ को तुलनामा २६ प्रतिशतले वृद्धि हो। यद्यपि, यी व्यक्तिहरू स्थायी बसोबासका लागि नभई पर्यटन, व्यवसाय र शिक्षा जस्ता गैर–आप्रवासी भिसामा गएका थिए। सन् २०२४ मा ३ लाख ३१ हजारभन्दा बढी भारतीय विद्यार्थीहरू अमेरिकामा अध्ययन गर्न गएका छन्, जुन २००८–०९ पछिको सबैभन्दा बढी हो।

अहिले अमेरिका यात्रा गर्न यात्रुहरूमाझ हिचकिचाहट बढ्दै गएको र ट्राभल एजेन्टहरूले ग्राहकहरूलाई यो कुरा कसरी बुझाइरहेका छन् भन्ने प्रश्नमा पारस लाखियाले निश्चित रूपमा धेरै हिचकिचाहट र भ्रम रहेको बताए। उनले यस्ता कुनै पनि परिवर्तनहरू अमेरिकाका स्थानीय कार्यालयहरूले पनि स्पष्ट रूपमा सूचित गर्नुपर्नेमा जोड दिए, जसले ट्राभल कम्पनीहरूलाई यसलाई राम्रोसँग बुझ्न र यात्रुहरूलाई सही जानकारी प्रदान गर्न मद्दत गर्नेछ।

प्यू रिसर्च सेन्टरका अनुसार २०२२ सम्ममा लगभग ७ लाख २५ हजार भारतीय नागरिक अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका छन्, जुन मेक्सिको र एल साल्भाडोरका नागरिकहरू पछि तेस्रो ठूलो समूह हो। माइग्रेसन पोलिसी इन्स्टिच्युटले यो संख्या ३ लाख ७५ हजार रहेको बताएको छ र एमपीआइका अनुसार भारत यस मामिलामा सम्पूर्ण एसियामा शीर्ष स्थानमा छ। अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) को आधिकारिक सरकारी तथ्याङ्कले २०२२ मा २ लाख २० हजार अवैध भारतीयहरू अमेरिका प्रवेश गरेको रिपोर्ट गरेको छ।

ट्राभल एजेन्सीहरू मार्फत प्रत्येक वर्ष अमेरिका यात्रा गर्ने भारतीयहरूको संख्याबारे कुनै खास तथ्याङ्क नभए पनि २०२४ मा २० लाखभन्दा बढी भारतीयहरूले अमेरिका यात्रा गरेको तथ्याङ्कले देखाउँछ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले प्रकाशित गरेको तथ्याङ्क अनुसार २०२३ मा अमेरिकी अधिकारीहरूले पक्राउ गरेका अवैध भारतीय आप्रवासीको संख्या ९६ हजार ९१७ रहेको छ, जुन २०२२ मा ६३ हजार ९२७ र २०२१ मा ३० हजार ६६२ थियो।


सम्बन्धित समाचार