७ जेठ,गाजा । संयुक्त राष्ट्र संघले गाजामा मानवीय सहायता सामग्रीको वितरणमा ढिलाइ भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। राष्ट्र संघका अनुसार, मंगलबार ९३ ट्रक राहत सामग्री सीमा पार गरेर गाजा पुगे पनि, ती सामग्री सम्बन्धित स्थानमा वितरण हुन सकेका छैनन्। यसले गाजामा भोकमरीको समस्या र चरम मानवीय संकटलाई अझै बढाएको छ।
प्राप्त जानकारी अनुसार, ती ट्रकहरूले पिठो, बालबालिकाका लागि खानेकुरा र स्वास्थ्योपचारका सामग्री बोकेका छन्। राष्ट्र संघले सीमा पार भएका सामग्री सम्बन्धित स्थानमा पु¥याउन इजरायलको सहयोग खोजिरहेको बताएको छ।
गाजामा अति आवश्यक वस्तुको समस्या समाधान गर्न दैनिक कम्तीमा ६ सय ट्रक राहत सामग्री आवश्यक पर्ने राष्ट्र संघले जनाएको छ। राष्ट्र संघका टम फ्लेटचरले तत्काल राहत वितरण नभए आगामी ४८ घण्टाभित्रमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने चेतावनी दिएका छन्।
विश्वव्यापी दबाब बढेपछि इजरायलले आइतबार अति आवश्यक सामग्रीलाई गाजामा प्रवेश गर्न दिइने जनाएको थियो। यद्यपि, राहत वितरण प्रक्रियामा देखिएको ढिलाइले चिन्ता बढाएको छ।
गाजाको असहनीय अवस्थाका कारण बेलायतका प्रधानमन्त्री केइर स्टेइमरले व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेका छन्। स्टेइमरले गाजाको अवस्था स्वीकार गर्नै नसकिने बताएका छन्। यसले गाजाको मानवीय संकटको गम्भीरतालाई उजागर गरेको छ।














