Logo

१० जेठ, काठमाडौँ— काठमाडौंको कोटेश्वरबाट करिव २९ लाख नगद सहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको व्यक्तिको साथबाट करिव १० केजी चाँदी र केही थान सुनका टुक्राहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कोटेश्वरमा रहेको भारतीय नागरिकको सुन चाँदी गाल्ने उद्योगमा छापा मारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरिक्षक विश्व अधिकारीका अनुसार अनुगमनका क्रममा भारतको महाराष्ट्र घरभएका २७ वर्षीय योगेश श्रीमन्त मगरलाई पक्राउ गरेको हो।

पक्राउको बेला प्रहरीले मगरको साथमा रहेको स्रोत नखुलेको २८ लाख ९३ हजार रुपैयाँ नगद, ९ किलो पाँच सय ग्राम चाँदी तथा अवैध रूपमा संकलन गरिएको ७ सय ३४ ग्राम बराबरको सुनका सिक्का बरामद गरेको छ।

एसएसपी अधिकारीका अनुसार भारतीय नागरिक मगर सुनचाँदीको अवैध कारोवारमा संलग्न रहेको आशंका गरिएको छ । काठमाडौं उपत्यका भित्रका अधिकांश सुनचाँदीका पसलमा अवैध रुपमा भित्राएको सुन र चाँदीको कारोवार हुदै आएको छ ।

भारतसँग सिमना जोडिएका सिमावर्ती शहर वीरगञ्ज, बारा, रौतहट, सर्लाही सिराहा र सप्तरीबाट समेत ठूलो परिणाममा भारतीय तयारी गहनाहरु नेपाल भित्रने गरेको स्रोतको भनाई छ । काठमाडोंको न्यूरोडमा रहेका अधिकाश पसलहरुले भारतबाट ल्याइएको गहना बेच्ने गरेको आरोप नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष शिव कुमार सरार्फले बताए ।


सम्बन्धित समाचार