Logo

२५ माघ,वीरगञ्ज । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको सरंचना निर्माणका लागि पर्सा जिल्लामा जग्गाको खोजी भईरहेको छ । पर्सा जिल्लाको चारवटा स्थानीय तहका सम्भावित स्थानहरुमा जग्गाको खोजी गरिएको हो ।

विश्व विद्यालय स्थापनापछि हाल वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ स्थित नेशनल ट्रेडिङको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ । नेशनल ट्रेडिङमा स्थापना गरिएको केन्द्रीय कार्यालयबाट पहिलो चरणका कानून संकाय र सार्वजनिक प्रशासन विषयको अध्ययन शुरु गर्ने योजना रहेको मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले बताउनुभयो ।

विश्वविद्यालय निर्माणका लागि ठूलो क्षेत्रफलका जग्गा आवश्यक भएकोले एकै ठाउँमा आवश्यक जग्गा उपलब्ध हुने सम्भावना नभएकोले विभिन्न स्थानीय तहहरुमा सम्भावित स्थानहरु खोजी गरिएको प्राध्यापक डाक्टर शाक्यको भनाई छ । उहाँका अनुसार हाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ र १९ मा रहेको २०÷२५ विगाह ऐलानी पर्ती जग्गामा केन्द्रीय कार्यालय रहने गरी जग्गाको खोजी गरिएको छ ।

त्यसका लागि वडा अध्यक्ष र नगर प्रमुखसँग सहमति समेत भएको छ । त्यस्तै पोखरिया नगरपालिकाको वडा नम्बर ९ मा पनि १५–२० विगाह जग्गा नगर प्रमुख प्रधुम्न चौहानले विश्व विद्यालय स्थापनाका लागि दिने प्रतिबद्धता जनाएको उपकुलपति प्रा.डा.शाक्यले बताउनुभयो । पोखरियामा उपलब्ध जग्गामा निर्माण हुने संरचनामा नर्सिङ्ग, अहेब, ल्याब टेक्निसियन, पारामेडिकल लगायतका विषयको अध्यापन गराउने योजना रहेको उनले बताए ।

त्यसैगरी पर्साको पकाहाममैनपुर गाउँपालिकाको कटिबलुवामा रहेको राधाकृष्ण मठको जग्गा पनि विश्व विद्यालयको संरचना निर्माणको संभावित स्थानको रुपमा हेरिएको छ । त्यहाँ सबैभन्दा धेरै ४० विगाह जति क्षेत्रफलको जग्गा रहेको उपकुलपति प्रा.डा.शाक्यले बताउनुभयो ।

बहुदरामाईमा पनि विश्वविद्यालयको लागि जग्गा दिन तयार रहेको छ । बहुदरामाई नगरपालिका वडा नम्बर २ मा रहेको ३०÷३५ विगाह ऐलानी जग्गा नगरपालिकाले विश्वविद्यालय स्थापनका लागि उपलब्ध गराउन तयार रहेको डा.शाक्यले बताउनुभयो ।

उक्त जग्गा विश्वविद्यालयको नाममा ल्याउनका लागि प्रकृया समेत शुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालय स्थापनका लागि करिब २०० विगाह क्षेत्रफलको जग्गा आवश्यक रहेको छ । विश्वविद्यालयको कानूनी र संगठनात्मक संरचनाहरु निर्माण भईसकेको छ । विश्व विद्यालयको सिनेट गठन भएर संगठनात्मक र प्रशासनिक नियमावली एवं कर्मचारी नियमावलीहरु पनि पारित भईसकेको छ ।


सम्बन्धित समाचार