२२ जेठ, सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि शृंखलाबद्ध आक्रमणका घटना बढेको भन्दै नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले स्थानीय प्रहरी प्रशासनमाथि नै अपराधीहरूलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । उनले आज बुधबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको मौनताले आफूहरूलाई थप चिन्तित बनाएको बताएका छन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंह, सर्लाही रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्याशी हरिनन्दन प्रसाद यादव लगायत अन्य नेता तथा कार्यकर्ताहरूलाई लक्षित गरी पछिल्ला केही दिनयता राजनीतिक प्रतिशोधका कारण कुटपिट, गाडी तोडफोड र ज्यान मार्नेसम्मका प्रयास भइरहेका छन्। यादवले यी घटनाहरूको घोर निन्दा एवं भर्त्सना गरेका छन्।
आक्रमणकारीहरूको पहिचान भइसक्दा पनि प्रहरी प्रशासनले उनीहरूलाई कानुनी दायरामा ल्याउन नसक्नुले अपराधीलाई बचाउन स्थानीय प्रहरी प्रशासन नै लागेको शंका उत्पन्न भएको उपसभापति यादवको भनाइ छ। उनले कानुनी राज्यमा कानुनको पालना नगर्ने प्रहरी प्रशासनलाई समेत कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
यादवले गृहमन्त्री रमेश लेखकलाई सर्लाही जिल्लामा शान्ति सुरक्षाको भरपूर्ण व्यवस्था मिलाउन र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन ध्यानाकर्षण गराउँदै नागरिकको जीवन रक्षाका लागि गृह प्रशासनलाई संवेदनशील बन्न आग्रह गरेका छन्। उनले घटनामा संलग्नहरूलाई यथाशीघ्र पक्राउ गरी कारबाहीको दायरामा ल्याउन जोडदार माग पनि गरेका छन्।
यदि नेता तथा कार्यकर्ताहरूमाथि पटक पटक भइरहेको सांघातिक आक्रमण नियन्त्रण नभए र घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा नल्याइए नेपाली कांग्रेस मधेश प्रदेश समिति शान्ति सुरक्षा कायम गराउन र न्याय स्थापित गराउनका लागि कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरू तय गरी अगाडि बढ्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ। आन्दोलनबाट सिर्जित सम्पूर्ण घटनाको जिम्मेवारी स्वयं प्रहरी प्रशासनले नै लिनुपर्ने जानकारी पनि गराइएको छ।
केही दिनअघि मात्रै नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यालयका सचिव निरज कार्की र क्षेत्र नं. ४ क्षेत्रीय कार्यालयका सभापति राम आश्रय साहले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस्ता घटनाको घोर भर्त्सना गरेका थिए। उनीहरूले तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याई आम जनतालाई त्रासमुक्त बनाउन, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गरेका थिए।

















