२९ जेठ,काठमाडौं । गाजाका विभिन्न अस्पतालहरूले राहत सामग्री लिन गएका नागरिकहरूमाथि इजरायली आक्रमण भएको दाबी गर्दै एकै दिनमा २५ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको रिपोर्ट गरेका छन्। बुधबार राति भएको घटनामा घाइतेको संख्या अझै खुलाइएको छैन।
घटनास्थल गाजाको नेत्जारिम करिडोर भन्ने स्थानमा रहेको बताइएको छ, जहाँ अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन (न्ज्ँ) द्वारा सञ्चालित राहत वितरण केन्द्रतर्फ पीठो बोकेर हिँडिरहेका मानिसहरू लक्षित गरिएको थियो।
हमासको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले बिना उक्साहट गोली चलाएको आरोप लगाएको छ। त्यस्तै, आत्तिएर भाग्ने क्रममा मानिसहरूलाई राहत बोकेको ट्रकले कुल्चेको रिपोर्ट पनि आएको छ।
इजरायली सेनाले भने यो घटनाबारे फरक धारणा राख्दै भनेको छ, “संदिग्धहरू नजिकिँदा सैनिकहरूले चेतावनीस्वरूप गोली चलाएका थिए।” तर प्रत्यक्षदर्शी र अस्पतालका रिपोर्टले भने गोली प्रहार निहत्था नागरिकमाथि लक्षित भएको देखाउँछन्।
यसैबीच, खान युनिसको एक अस्पतालले दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको न्ज्ँ साइट नजिकै इजरायली हमलामा परी १४ जना थप नागरिकको मृत्यु भएको जनाएको छ।
इजरायली सेनाले रफाहबाट प्राप्त रिपोर्टहरूको छानबिन भइरहेको जनाएको छ। तर आलोचकहरूले मानवीय राहत वितरणमै संलग्न नागरिकमाथिको हमला युद्ध अपराध हुन सक्ने चेतावनी दिएका छन्।
गाजामा निरन्तर भइरहेका आक्रमण र मानवीय संकटले जनजीवन अत्यन्त दयनीय बन्दै गएको छ। यद्यपि अन्तर्राष्ट्रिय समुदायको दवाव बढ्दै गए पनि युद्धविरामको सम्भावना अझै टाढा देखिन्छ।















