३० जेठ,सिरहा । सिरहा जिल्ला प्रहरी कार्यालयले हालै तीन छुट्टाछुट्टै कारबाहीमार्फत लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरुको साथबाट खैरो हेरोइन, धारिलो हतियार र गाँजा सेवनमा प्रयोग हुने उपकरणसमेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार, जेठ २७ गते राति करिब ११ः३० बजे गोलबजार नगरपालिका–४, क्याम्पस चोकबाट शंकास्पद अवस्थामा हिँडिरहेका २० वर्षीय राकेश कुमार महतोलाई ४४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो।
त्यस्तै, जेठ २८ गते साँझ करिब ६ः१० बजे सोही नगरपालिकाको वडा नम्बर ४, क्याम्पस चोकमै गोप्य सूचनाका आधारमा डेरामा खानतलासी गर्दा तीन जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका–०३ का २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका–०८, कसहाका २२ वर्षीय सन्तोष कुमार महतो र औरही गाउँपालिका–१ का १८ वर्षीय प्रदीप कुमार यादव रहेका छन्। उनीहरूको कोठाबाट ०.९७० मिलिग्राम खैरो हेरोइन, एक थान धारिलो चक्कु र गाँजा सेवन गर्ने वाटर गन बरामद भएको प्रहरीले जनाएको छ।
तेस्रो घटनामा, जेठ २८ गते दिउँसो करिब ३ः३० बजे गोलबजार नगरपालिका–५ बाट लागुऔषध बिक्री गरिरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले २४ वर्षीय बिमल कुमार महतो, २२ वर्षीय बिपेन कुमार साह र एक जना नाबालिगलाई नियन्त्रणमा लिएको छ।
बिपेन कुमार साहको साथबाट १ ग्राम ८६० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। सोधपुछका क्रममा उनीहरूले बिमल कुमार महतोबाट लागुऔषध खरिद गरेको बयान दिएपछि बिमलको घरमा खानतलासी गर्दा थप ४०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले बताएको छ।
पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय गोलबजारबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिएका छन्।















