३१ जेठ,हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित डाइभरडाँडामा शनिबार दिउँसो भएको बस दुर्घटनामा परी १० जना घाइते भएका छन्। दुर्घटना बसको ब्रेक फेल भएपछि श्रृंखलाबद्ध ठक्कर दिँदै जाँदा भएको हो ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दिउँसो करिब ३ः२० बजे वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएको थियो।
अनियन्त्रित बनेको उक्त बसले सुरुमा विपरीत दिशाबाट आइरहेको अनटेस्ट कारलाई ठक्कर दियो। त्यसपछि सोही दिशातर्फ गइरहेको ना ८ ख ४४० नम्बरको ट्यांकरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
श्रृंखलाबद्ध ठक्करपछि बस अझै नरोकी करिब १०० मिटरजति अगाडि बढेर सडक छेउमा रहेको रुखमा ठोक्किएपछि मात्र रोकिएको हो।
दुर्घटनामा बसमा सवार ४ जना र कारमा सवार ६ जना गरी १० जना घाइते भएका छन्।
सवै घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा उद्धार गरी हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने ४ जनाको अवस्था सामान्य छ।
दुर्घटनामा कारमा बढी क्षति पुगेको छ भने ट्यांकरको पछाडिको भाग सामान्य क्षतिग्रस्त भएको छ।
दुर्घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

















