१ असार, वीरगञ्ज । भारतको उत्तराखण्ड राज्यको केदारनाथ धामबाट गुप्तकाशीका लागि उडेको एक निजी हेलिकप्टर गौरीकुण्डको जङ्गल क्षेत्रमा दुर्घटना हुँदा पाइलटसहित ७ जनाको ज्यान गएको छ । आज बिहान ५:१७ बजे आर्यन एभिएसन कम्पनीको हेलिकप्टरले केदारनाथ हेलीप्याडबाट उडान भरेको केहीबेरमै दुर्घटना भएको हो ।
हेलिकप्टरमा ६ जना तीर्थयात्री र एक जना पाइलट सवार थिए। उडानका क्रममा मौसम एकाएक बिग्रिएपछि हेलिकप्टरले आकस्मिक ‘हार्ड ल्यान्डिङ’ गर्न खोज्दा दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ। सो दुर्घटनामा सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि भारतीय अधिकारीहरूले गरेका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट राजवीरका साथै यात्रुहरू विक्रम रावत, विनोद, तृष्टि सिंह, राजकुमार, श्रद्धा र १० वर्षीया बालिका राशि रहेका छन् ।
आर्यन एभिएसन कम्पनीको यो हेलिकप्टर केदारनाथ दर्शन सकेर तीर्थयात्रीहरूलाई लिएर गुप्तकाशी फर्किंदै थियो। दुर्घटनाको सूचना पाएलगत्तै उत्तराखण्ड सरकारले खोज तथा उद्धार टोलीलाई तुरुन्त घटनास्थलतर्फ पठाएको बताइएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूसँग मौसम अनुकूलताबारे विशेष सतर्कता अपनाउन निर्देशन पनि दिएका छन् ।
यस घटनाले धार्मिक पर्यटकीय क्षेत्रमा बढ्दो हवाई आवागमन र सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ। केदारनाथ जस्ता उच्च भूभागमा मौसम छिट्टै फेरिने भएकाले हवाई उडानमा अझ सतर्कता आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
यो पनि पढ़नुहोस् :
उत्तराखण्डको केदारनाथमा हेलिकप्टर दुर्घटना















